समाचारशनिबार, जेठ ४, २०७०

थ्रेसहोल्ड जरुरी छः रायमाझी

हिमालखबर

रिपोर्टर्स क्लबले ४ जेठमा राजधानीमा गरेको साक्षात्कारमा बोल्दै एमाओवादी नेता टोपबहादुर रायमाझीले संविधान सभा निर्वाचनमा १ प्रतिशतभन्दा कम मत ल्याउने दलले समानुपातिक तर्फ सदस्य नपाउने थ्रेसहोल्डको व्यवस्था नभए दलीय राजनीतिमा दुरगामी नकारात्मक असर पर्ने बताए ।
उनले भने, ‘थ्रेसहोल्ड चाहिन्छ, नत्र गम्भीर समस्या आउँछ ।’ थ्रेसहोल्ड नभए थेग्न नसक्ने गरी दलहरु रहने उनको भनाई थियो ।
व्यक्तिपिच्छे पार्टी खुल्न नहुने मान्यताका साथ चुनावी व्यवस्था अनिवार्य रहेको भन्दै रायमाझीले संविधानसभा सदस्य संख्या ४९१ भन्दा बढी गराउ नहुनेमा पनि जोड दिए ।  “देशले धान्न नसक्ने गरी सदस्य संख्या बढाउन हुँदैन, ” उनले भने ।
निर्वाचन मंसीरको पहिलो हप्ताभित्रै हुने ठोकुवा गर्दै उनले थपे, “कसैले बहिष्कार गर्दैमा चुनाव रोकिन्न ।”
राष्ट्रपति रामवरण यादव र वर्तमान सरकारको चुनाव नगराउने नियत हुनसक्ने आरोप लगाउँदै रायमाझीले चुनाव नगरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिए ।

साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एनेकपा माओवादी चुनाव हुन नदिन लागि परेको आरोप लगाए ।
माओवादी चुनावको पक्षमा नरहेको र उसका क्रियाकलाप चुनाव हुन नदिनेतर्फ लक्षित रहेको भन्दै केसीले अरु दलको मुद्दालाई देखाएर माओवादीले बखेडा झिकिरहेको दाबी गरे ।
“वर्तमान सरकारलाई असफल बनाएर माओवादी सत्ता कब्जा गर्ने नियततर्फ लक्षित छ,” केसीले भने । थ्रेसहोल्ड र ४९१ संविधानसभा सदस्य संख्याको व्यवस्थाबाट कांग्रेस पछि नहट्ने केसीको भनाई थियो ।

त्यस्तै नेकपा एमालेका पोलिटब्यूरो सदस्य भीम रावलले थ्रेसहोल्डसहितको अध्यादेशमा सम्झौता नहुने स्पष्ट पारे । थ्रेसहोल्ड हटाउन खोज्नुलाई निर्दलीयतातर्फको प्रयास भन्दै कुनै हालतमा लचिलो नहुने बताए ।

समावेशीको ठूला कुरा गर्नेहरु ३० प्रतिशतभन्दा कम उम्मेदवार दिनेलाई समावेशीको सिद्धान्त पालना गर्न नपर्ने पक्षमा उभिनुलाई रावलले हास्यास्पद भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>