समाचारशनिबार, जेठ ४, २०७०
एकता महाधिवेशनमा राजनीतिक प्रतिवेदन पारित
काठमाडौंमा ३ जेठदेखि जारी राप्रपा र राजपाको एकता अधिवेशनमा नेता डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । प्रतिवेदनमा गणतन्त्रप्रति प्रतिबद्धता, बहुलवाद, पूर्ण प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, मानवअधिकार, राष्ट्रवाद र जनपक्षीय उदारवाद, समावेशीलगायतका विषयवस्तु समेटिएका छन् ।
आगामी संविधानसभाको निर्वाचन सम्पन्न गर्न पार्टी सकारात्मक ढङ्गले सक्रियरुपमा परिचालन हुने पनि महाधिवेशनले निर्णय गरेकोे छ ।
बन्दसत्रमा हालसम्म दुई सयभन्दा बढी सहभागीले मुलुकको राजनीतिक, पार्टी सङ्गठन सुदृढीकरण र भावी रणनीतिका बारेमा केन्द्रित रहेर सुझाव दिएको महाधिवेशन प्रचार समितिका सहसंयोजक किरण गिरीले बताए ।
बन्दसत्रमा अर्जुन राईले वैदेशिक, प्रतिभा राणाले महिला, ठाकुर सिंह थारुले मधेशी र श्रीधर परियारले दलितसम्बन्धी बेग्लाबेग्लै प्रस्तुत गरेका प्रस्तावहरू पनि पारित भएको छ ।
महाधिवेशन आइतबार सम्पन्न गर्ने कार्यक्रम तय भए पनि बन्दसत्रमा धेरैभन्दा धेरै वक्ताले बोल्ने इच्छा देखाएकाले महाधिवेशन लम्बिन सक्ने सङ्केत देखिएको सहसंयोजक गिरीले बताए ।
एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै राखिने र अध्यक्षमा सूर्यबहादुर थापा रहने सहमति भएको छ ।
