समाचारशनिबार, जेठ ४, २०७०
साउदी महिला सगरमाथा शिखरमा
२५ वर्षीया राहा मोहाराकले आरोहण दलका ६४ जनासँगै ४ जेठमा सगरमाथाको सफल आरोहण गरेर सगरमाथा चढ्ने पहिलो साउदी अरेबियाली महिला भएकी छन् । यो आरोहणसँगै उनी सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने साउदी नागरिक पनि भएकी छन् ।
मोहराकले आफ्ना लागि सगरमाथा आरोहण निकै महत्वपूर्ण भएको बताएकी आरोहणका सहयोगी सोलुखुम्बु देउसा निबासी किताबसिंह तामाङले जानकारी दिए । स्थानीय सञ्चारकर्मीसमेत रहेका तामाङले भने, “साउदी अरेबिएन राहाले शनिबार सगरमाथाको चुचुरोमा पाइला राखेकी हुन्” ।
बुर्का नलगाएर सार्वजनिक रुपमा हिंडनसमेत बन्देज लगाइने देशकी नागरिक मोहराकले सगरमाथा चढ्नका लागि परिवारसँग अनुमति पाउन पनि निकै संघर्ष गर्नु परेको उनलाई आरोहणमा लिएर जाने एक्सपिडिसन संस्थाले जनाएको छ । उक्त एक्सपिडिसनको वेबसाइटमा भनिएको छ, “सगरमाथा चढ्न परिवारको मञ्जुरी लिनु उनका लागि सगरमाथा जस्तै कठिन थियो, तर अहिले उनलाई परिवारको पूर्ण समर्थन छ ।”
उनले भनेकी छन, “म पहिलो हुनुभन्दा पनि महत्वपूर्ण मेरो आरोहणले अरु कसैलाई दोस्रो हुन प्रेरित गरोस ।”
मोहराकसँगै कतार र प्यालेष्टिनका पुरुषले पनि पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ३५ जना विदेशी र २९ जना शेर्पा गाइडहरुसँगै मथिल्लो शिविरबाट रातभरको यात्रापछि मोहराक ४ जेठ बिहान सगरमाथाको चुचुरोमा पुगेको नेपाल पर्वतारोहण संघले जनाएको छ ।
यसअघि आधार शिविरमा रहँदा मोहराकले साउदी अरबबाट सगरमाथा चढ्ने पहिलो महिला हुने रेकर्ड कायम गर्ने भन्दै यो साहसिक काम गर्नका लागि आफूले धेरै चुनौती पार गरेको बताएकी सहयोगी तामाङले जानकारी दिए ।
राससको सहयोगमा

