समाचारआइतबार, जेठ ५, २०७०
सदभावनाको अनशन स्थगित
५ बैशाखमा गृहमन्त्री नेतृत्वको सरकारी टोलीसँगको वार्तापछि सदभावना अध्यक्ष राजेन्द्र महतोले छलफल सकारात्मक भएको र ६ जेठमा पुनः छलफल गरी निष्कर्षमा पुगिने भएकाले हालका लागि अनशन स्थगित गरिएको बताएका छन् । उनले जिल्लामा अनशन बसिरहेका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै अनशन स्थगित गर्न आग्रह गरिएको बताए ।
यसअघि सरकारले आफ्ना माग पूरा नगरे आफैं अनशनमा बस्ने घोषणा गरेका अध्यक्ष महतोले ६ जेठमा हुने वार्तामा सहमति नभए जिल्ला जिल्लामा आन्दोलित नेता कार्यकर्ताको अभिभारा आफूले लिंदै अनशनमा बस्ने बताए । उनले भने, “वार्ता सकारात्मक भएको छ, यदि भोली सहमति भएन भने सबै नेता कार्यकर्ताको अभिभारा आफ्नो काँधमा लिंदै म आफै शान्तिबाटिका रत्नपार्कमा अनशनमा बस्नेछु ।”
संविधान सभा निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पुनःनिर्धारण आयोग गठन, नागरिकता वितरण निर्देशिका २०७० को संशोधन, नागरिकता प्रमाणपत्र बाहेक अन्य प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली संकलन लगायतका १० बुँदे माग राख्दै सदभावना पार्टी आन्दोलित छ ।
