समाचारसोमबार, जेठ ६, २०७०
चार दलीय संयन्त्र खारेज गरः थापा
६ जेठमा बुटवलमा आयोजित कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनका लागि गठित वर्तमान सरकार स्वतन्त्र रुपले सञ्चालन हुनेभन्दा पनि प्रमुख चार दलको सिन्डिकेटको छायाँ बनेको भन्दै चार दलसम्मिलित उच्चस्तरीय राजनीतिक समिति खारेजी को माग गरेका छन् ।
उनले चारदलको सिण्डिकेटमा चलेको सरकारले गराउने निर्वाचन स्वतन्त्र र धाँधलीरहित हुन नसक्ने भन्दै शिघ्र चार दलीय संयन्त्र खारेजी हुनुपर्ने बताए ।
“केही दललाई ‘क’ श्रेणीमा र कसैलाई ‘ख’ श्रेणीमा राखेर चुनाव हुन सक्दैन,” थापाले भने, “निर्वाचन गराउन गठित वर्तमान सरकारले चुनावका निम्ति कुनै सार्थक र ठोस काम गर्न नसकेकाले मंसीरमा चुनाव हुनेमा पनि शङ्का छ ।”
सरकारले निर्वाचन घोषणा गर्नेभन्दा पनि सानातिना काममा अल्झेको दाबी गर्दै थापाले सरकारले विवादित ढङ्गबाट संवैधनिक निकायमा गरेको नियुक्तिप्रति आपत्ति जनाएका थिए ।
