समाचारमंगलबार, जेठ ७, २०७०

पूर्व सभासद हत्या प्रकरणः हत्यारा खोज्दै कुकुर इप्रका पुगे

हिमालखबर

फाइल तस्बीर

त्यसअघि घट्नास्थलदेखि तीन सय मिटर उत्तरतर्फ बाँसको झ्याङ्गमा रगतले लथपथ भएको  सर्ट, चप्पल र डायरी फेला पारेका कुकुरहरु कल्याणपुर–२ को मण्डल टोल हुँदै इलाका प्रहरी कार्यालय कल्याणपुरमा गएर बसेका छन् । कुकुरहरु त्यहाँबाट हट्न नमानेको स्थानीयहरुले बताएका छन् ।

अनुसन्धानमा उपयोग हुने तालिमप्राप्त प्रहरीको कुकुर इलाका प्रहरी कार्यालयमा गएर बसेपछि प्रहरीको पनि कुनै संलग्नता भएको हुन सक्ने भन्दै स्थानीयहरुले  साँझ त्यहाँ प्रदर्शन गरेका छन्  ।

कुकुरले फेला पारेका चप्पल, शर्ट मृतकका हुन् वा हत्याराका अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ । घट्नास्थलभन्दा टाढा सामान भेटिनुले अन्यत्रै हत्या गरेर उनलाई पेट्रोल पम्पमा ल्याइएको हुन सक्ने र कुकुर इलाका प्रहरी कार्यालयमा पुग्नुले प्रहरीको समेत संलग्नता  हुन सक्ने स्थानीयले शंका गरेका छन् ।

हत्या गरिएका पूर्व सभासद् सदरुल हकको शव पोष्टमार्टमका लागि धरान लग्ने दिउँसै सहमति भएपनि कुकुर इप्रकामा गएर बसेपछि स्थानीयहरुले त्यहाँको छानबिन बिना जान नदिने अडान लिएका थिए ।

पछि स्थानीय नेताहरु सहभागी संघर्ष समितिले आन्दोलन जारी राख्ने र इप्रकाभित्र पनि छानबिन गर्ने सहमति भएपछि  राति करिब साढे आठ बजे शव पोष्टमार्टमका लागि धरान लगिएको छ ।

यद्यपी चक्काजामलाई निरन्तरता दिने स्थानीयहरुले बताएका छन् ।

छानबिन समिति गठन

यसैबीच सरकारले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न प्रहरी अतिरिक्त महानिरीक्षक दिनकरशम्शेर जबराको संयोजकत्वमा क्षेत्रीय प्रहरी कार्यालय पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय कार्यालय पूर्वाञ्चलका अनुसन्धान निर्देशक सदस्य रहेको छानबिन समितिसमेत गठन गरेको छ ।

श्रवणकुमार देव, सप्तरी

————————————————————————————————————————

पूर्वसभासद हकको हत्यापछि सप्तरी तनावग्रस्त

पूर्व सभासद् सदरुल हकको हत्या भएपछि सप्तरीको अवस्था तनावग्रस्त बनेको छ ।

हिमालखबर

मंगलबार , ७ जेठ २०७० २:२० पम

पूर्व सभासद सप्तरी कल्याणपुर–२ का सदरुल हकका हत्याराको पहिचान गरी अबिलम्ब पक्राउ गर्न माग गर्दै स्थानीयले जिल्लाका बिभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

सदरमुकाम राजविराजसहित कल्याणपुर बजार पूर्ण रुपमा बन्द गराउँदै समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । कल्याणपुर २ स्थित पूर्वपश्चिम राजमार्गमा बिहानैदेखि भएको चक्काजाम हालसम्म खुल्न सकेको छैन् ।

प्रहरीले बल प्रयोग गरी जाम खोलाउने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रदर्शनकारीको ढुँगा लागेर दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते भएका जवानद्वय रमेश थापा र दिपेन्द्र भुजेलको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले कल्याणपुरमै ना.४ख ९१९८ नम्बरको बसमा तोडफोड गरेका छन् । अहिले सो ठाउँमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यस्तै सप्तरी सदरमुकाम राजविराजको अवस्था पनि निकै तनावपूर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालय, जनआन्दोलन चोकसहित बिभिन्न ठाउँमा टायर बालेर प्रदर्शनकारीले बजार बन्द गराएका छन् ।

हातमा लाठी बोकेका प्रदर्शनकारीहरुले बजार बन्द गराउँदै प्रशासनबिरुद्ध चर्काे नाराबाजी गरेका छन् ।

अहिलेसम्म हकको शवलाई घटनास्थलबाट उठाउन दिइएको छैन । घट्नाको अनुसन्धान र प्रदर्शनकारीहरुसँग वार्ताका लागि विराटनगरबाट डिआइजी आउन लागेको बुझिएको छ ।

उद्योगीदेखि जोसिला नेतासम्म

कल्याणपुरमै जन्मेर इँटा उद्योग र पेट्रोलपम्प संचालन गर्दै आएका सदरुल समाजिक काममा पनि सक्रिय थिए ।

पहिलेदेखि राजनीतिक पृष्ठभूमि नभए पनि २०६४ सालमा भएको संबिधानसभाको निर्वाचनबाट राजनीतिमा प्रवेश गरेका सदरुलले क्षेत्र नं. ५ बाट सजिलै चुनाव जितेका थिए ।

सप्तरी जिल्लाबाट ६ जना प्रत्यक्ष र १० जना समानुपातिक गरी १६ जना सभासद् भए पनि संबिधानसभामा उनको जस्तो भूमिका अरुको रहेन । कुनै राजनीतिक दलमा आवद्ध नभइकन पनि स्थानीयदेखि राष्ट्रिय मुद्दाका विषयमा आफ्ना विचारहरु जिल्लाका अन्य सभासदहरुभन्दा गहकिलो रुपमा हकले प्रस्तुत गरेका थिए ।

मधेशी, मुस्लिम, आदिवासी, जनजातिको पक्षमा बोल्ने सदरुल हक सभासद् बने यता सधैं चर्चामा रहे ।

सभासद् बनेपछि उनले अरु सभासदहरु जस्तो काठमाडौंमै डेरा जमाएर बसेनन् । संविधान सभा र व्यवस्थापिका संसदको बैठक नभएका बेला उनी धेरै जसो जिल्लामै देखिन्थे ।

स्थानीय कार्यक्रमहरुमा सक्दो सहभागिता जनाउने सदरुलका कुरा सुन्नेहरुको भीड पनि अरुको भन्दा बढी नै हुन्थ्यो । पछिल्लो समय बिभिन्न मधेशवादी दलहरुले आफ्नो पार्टीमा प्रवेशका लागि आग्रह गर्दा पनि उनले स्वतन्त्र नै रहन रुचाए ।

संबिधान बनाउन मुख्य दलका नेताहरुले सहमति गर्न नसकेको र त्यसमा संविधान सभा अध्यक्षको भूमिकाप्रति पनि असन्तुष्ट हकले यसबारे बारम्बार आवाज उठाएका थिए ।

संबिधानसभा बिघटन भएपछि जिल्लामा बस्दै आएका हक सामाजिक कामहरुमै सक्रिय थिए ।
श्रवणकुमार देव, सप्तरी

————————————————————————————————————————–

पूर्व सभासद हककको विभत्स हत्या

पूर्व सभासद् सदरुल हकको ६ जेठ राति कल्याणपुर २ स्थित उनकै पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

सप्तरी क्षेत्र नम्बर ५ बाट संबिधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित पूर्व सभासद् सदरुल हकको शव विभत्स तरिकाले हत्या गरिएको अवस्थामा  ७ जेठ बिहान सप्तरी कल्याणपुर–२ स्थित उनकै पेट्रोल पम्पमा फेला परेको हो ।

पेट्रोल पम्पको एउटा कोठामा घाँटी रेटिएको साथै शरीरको बिभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा हकको शव फेला परेको प्रहरीले जनाएको छ ।

५२ बर्षीय हकको निधनपश्चात घट्नास्थलमा ठूलो भीड छ । हत्याको बिरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । बिहानैदेखि गरिएको चक्काजामका कारण पूर्व र पश्चिम दुबैतर्फ यातायातका साधनहरुको लाम लागेको छ ।

पूर्व सभासद् हक सप्तरी क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदबार भई निर्वाचित भएका थिए । जिल्लाकै लोकप्रिय नेता रहेका  हकको कसैसँग रिसइवी र विवाद  नभएको स्थानीयहरुले बताएका छन् ।

हत्या कसले र किन गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी संजयसिंह बस्नेतले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>