समाचारमंगलबार, जेठ ७, २०७०

जापानी रुपैयाँ बनाउन नेपाली लोक्ता

हिमालखबर

जापानी येन बनाउनका लागि इलामका विभिन्न गाउँबाट जापानमा लोक्ताको निकासी भइरहेको छ । लोक्तालाई तातो पानीमा उमालेर बनाइएको गुणस्तरीय रेसादार लोक्ताको कागज काठमाडौं हुँदै येन बनाउनका लागि जापान निकासी हुने गरेको माइमझुवा–७ का ओम गुरुङले बताए ।

उनले जापानी येन बनाउन उपयुक्त लोक्ता काठमाडौँको कानपोउ कम्पनीमार्फत जापान निर्यात गरिरहेका छन् । येन बनाउनका लागि प्रयोग गरिने लोक्ता प्रतिकिलो रु तीन सय ६० भन्दा बढीमा बिक्री हुने गरेको गुरुङ बताउँछन् ।

‘मैले लोक्ताको प्रशोधन गरी विदेश निर्यात गर्न थालेपछि छिमेकीहरू पनि लोक्ता बिक्री गरिदिन भन्दै घरमा आउने गरेका छन्,’ गुरुङले भने । यहाँका किसानले यस वर्ष करिब दुई सय टन लोक्ता जापान निर्यात गरी रु डेढ करोड आम्दानी गरेका छन् ।

तीस रोपनी जग्गामा व्यावसायिक रूपमा लोक्ताको खेती गरेका गुरुङ आफूले कानपोउ कम्पनीमार्फत जापानी येन बनाउने गुणस्तरको पाँच क्विन्टल लोक्ता बिक्री गरिसकेको बताए ।

उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका राजबहादुर राईले किसानले नम्बरी जग्गामा समेत लोक्तासहित अन्य जडीबुटीखेती गरेको जानकारी दिए ।

जमुना, मावु, जोगमाई, गोर्खे, नया“बजार, प्याङ, माइमझुवा, माइपोखरी, सुलुबुङ, सुम्बेक, पुवामझुवा, चमैता, सा“खेजुङ किसानले व्यावसायिक रूपमा लोक्ताखेती गर्दै आएका छन् । जापानी येन बनाउन प्रयोग हुने लोक्ता यहीबाट प्रशोधन भएर जापान निर्यात गरिन्छ ।

यस वर्ष माइमझुवामा मात्रै सात सय मनभन्दा बढी लोक्ता उत्पादन भएको स्थानीय अगुवा जडीबुटी किसान जीतबहादुर राईले बताए । आफूले आठ मन लोक्ता उत्पादन गरी रु एक लाख ६० हजार आम्दानी गरेको राईको भनाई छ ।

अहिले नेपाली कागज बनाउने उद्योगले लोक्ता रु ७० प्रतिकिलोका दरले खरिद गर्ने गरेका छन् । लोक्ताको व्यावसायिक खेती थालेपछि जिल्लाका विभिन्न ठाउँमा लोक्ताबाट नेपाली कागज बनाउने घरेलु उद्योग खुलेका छन् ।

नेपालमा लोक्ताबाट नेपाली कागज तयार पारिन्छ । यसरी तयार पारिएका नेपाली कागज सरकारी लिखत राख्ने, अंशवण्डा, कागज र खाम बनाउनेलगायतका काममा प्रयोग हुने गरेको छ । यस्तै आजभोलि प्रमाणपत्रका रूपमा समेत नेपाली कागजको प्रयोग हुन थालेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>