समाचारबुधबार, जेठ ८, २०७०
प्रेम गरेको आरोपमा एक युवालाई देश निकाला
अछाम भैरबस्थान गाविस– २ का १७ वर्षीय महेन्द्र विकलाई गैरदलितकी श्रीमतीसँग प्रेम गरेको भन्दै स्थानीय गैरदलितको समूहले कुटपिट गर्दै १० वर्ष सम्म नेपाल र्फकन नपाउने देश निकालाको घोषणा गरेको छ ।
स्थानीय रेडियो रामारोसनका अनुसार सुर्खेतको एक गैरसरकारी संस्थामा महेन्द्रका बुवा बिसे तिरुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । भैरवस्थान गाविसकी २२ बर्षीया बिसी थरकी विवाहित महिलासँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका हुन् ।
महिलाका बाबु लगायत स्थानीय चन्द्र बिसी, टीकाराम विसी, भुवन सिंह, टेकबहादुर बिसी लगायतले महेन्द्रको घरमै गएर कुटपिट गरी १० बर्षसम्म नेपाल नफकिर्ने बाचा गराएर भारत पठाएको तिरुवाको भनाई छ ।
देश निकाला पछि महेन्द्रको अहिले भारतको पञ्जाबमा उपचार भइरहेको छ । प्रहरीले समेत महेन्द्र नै दोषी भएको ठहर गर्दे १५ हजार जरिवाना गरी तारेखमा छाडेको बताईएको छ ।
कथित उच्च जातिको समूहले सामूहिक यातना दिँदै गत १४ चैतमा देशनिकाला गरेको महेन्द्रका बाबु बिसे तिरुवाले बताएका छन् ।
घटनाको झण्डै २ महिना भईसक्दा पनि सहयोग गर्ने कोही नहुँदा घटना बाहिर आउन सकेको थिएन ।
अछामका प्रमुख प्रहरी नायब निरीक्षक श्यामप्रसाद पौडेलले भने उनीहरुबीच फोन सम्पर्क भएपछि आफन्तले निगरानी गरेको र प्रहरीले दोषी ठहर नगरेको प्रतिक्रिया दिएका छन् ।
भैरवस्थान तथा विनायक प्रहरी चौकीमा विबाद समाधान हुन नसकेपछि गाउँलेहरुले नै यसो गरेका हुनसक्ने पौडेलको भनाई छ ।
