समाचारबुधबार, जेठ ८, २०७०
कांग्रेस–एमाले निर्णयः ११ बुंदे सहमतिबाट पछि नहटने
नेकपा एमालेको मुख्यालय बल्खुमा ८ जेठमा बसेको कांग्रेस र एमालेको बैठकले ११ आगामी संविधानसभा निर्वाचनमा थ्रेस होल्ड प्रणाली र ४ सय ९१ सभासद् राख्ने यसअघिको सहमतिबाट पछि हट्न नसक्ने निर्णय गरेको छ ।
बैठकले ११ बुँदे सहमति र बाधा अड्काउ फुकाउको २५ बुंदे आदेशबाट पछि हट्दा संविधानसभा निर्वाचन झनै अन्योलमा पर्ने भन्दै पूर्ववत् सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।
यसैगरी बैठकले आन्दोलनरत नेकपा–माओवादी र मधेशी जनअधिकार फोरम नेपाललाई उच्चस्तरीय राजनीतिक समितिमा सहभागी गराउने र यससम्बन्धमा ती दुई दलसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठकले निर्वाचन ऐन संशोधन गरी आन्दोलनरत दलहरुलाईसमेत सहमतिमा ल्याएर चुनावको मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि एमाले नेता रघुजी पन्तले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने र बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्न माग गर्ने बताए ।
बैठकले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटी आफूहरुका माग र सुझावका बारेमा छलफल गर्ने निर्णयसमेत गरेको छ ।

