समाचारबिहीबार, जेठ ९, २०७०
थ्रेस होल्ड र सदस्य संख्याबारे सोच्न सकिन्छः सापकोटा
९ जेठमा रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कारमा एमाओवादी प्रवक्ता अग्नि सापकोटाले अहिलेको अनिवार्य आवश्यकता निर्वाचन भएकोले त्यसका लागि २५ बुँदे बाधा अडकाउ फुकाउ र सरकार बाहेक सबै विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।
सापकोटाले भने, “थ्रेस होल्ड र सिट सख्याको विषयमा पनि सोच्न सकिन्छ ।”
उनले आफ्नो पार्टी ११ बुँदे सहमति र २५ बुँदे बाधा अडकाउ फुकाउमा प्रतिबद्ध रहेको भन्दै नेकपा–माओवादी शान्ति र संविधानविरुद्ध लागि परेको आरोप लगाए । उनले भने, “दलहरुको सरकार बनाउनु पर्छ भनेर माओवादीले निकास अवरोध गर्न खोजिरहेको छ ।”
कांग्रेस र एमालेलाई गुटबन्दी गरेको आरोप लगाउँदै सापकोटाले राजनीतिक समितिमै बसेर छलफल गर्न चुनौति दिए ।
साक्षात्कारमा नेकपा एमालेका सचिव शंकर पोख्रेलले एमाओवादीले विघटित संविधान सभाका झण्डै सय जना सभासद रहेको नेकपा–माओवादीको कुरै नसुनी १ प्रतिशत पनि मत नल्याउने दलको पक्षमा उभिंदा उसले मंसीरमा निर्वाचन नचाहेको प्रष्ट भएको दावी गरे ।
“ड्यास माओवादीलाई निर्वाचनमा ल्याउन एमाओवादी छलफल चलाउन नै चाहँदैन तर १ प्रतिशत पनि मत ल्याउन नसक्ने दलहरुको लागि थ्रेस होल्ड हटाउ उभिन्छ,” पोखरेलले भने, “अनि कसरी उसले मंसीरमा निर्वाचन चाहन्छ भनेर विश्वास गर्न सकिन्छ ।”
उनले नेकपा–माओवादीको बोली र ब्यवहारमा तारतम्य मिल्न नसकेकोले उसको नियतमा आशंका ब्यक्त गर्दै माओवादीको उद्देश्य नै निर्वाचनमा नआउने हो भने उसलाई चुनावका लागि कुरेर बस्न नसक्ने स्पष्ट पारे ।
त्यस्तै नेपाली काग्रेसका नेता दिपकुमार उपाध्यायले चुनावको मुखमा आएर निर्वाचन चाहने चार दलवीच नै विवाद हुनु दुखद भएको टिप्पणी गर्दै अब चार दलले निर्वाचनको विषयमा एउटै धारणा बनाएर असन्तुष्ट दलहरुसँग छलफल थाल्नु पर्ने सुझाव दिए ।
उनले भने, “थ्रेस होल्डमा विवाद गर्नु हुँदैन । एक प्रतिशत पनि मत ल्याउन नसक्नेलाई जनताको प्रतिनिधित्व गर्ने अधिकार छैन, त्यसैले विवाद नगरौ नभए मुलुकको दुर्दिन आउँछ ।”
नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङले २५ बुँदे बाधा अडकाउ फुकाउ कायम रहेसम्म निर्वाचन हुन नसक्ने र आफ्नो पार्टी पनि निर्वाचनमा भाग नदिने स्पष्ट पारे ।
उनले निर्वाचन गर्ने भए गोलमेच सम्मेलन गरेर २५ बुँदे बाधा अडकाउ फुकाउलाई परिवर्तन गरेर अघि बढ्नु पर्ने बताए ।
