समाचारशुक्रबार, जेठ १०, २०७०
महतोलाई जवर्जस्ती अस्पताल पुर्याइयो
संविधानसभा निर्वाचनको मिति तत्काल घोषणा गर्नु पर्नेलगायतका १० सूत्रीय माग राखी राजधानीको शान्ति वाटिकामा चार दिनदेखि आमरण अनशनमा बसेका सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले उठाएर वीर अस्पतालको आइसियु कक्षमा राखेको छ ।
“हामीहरु झण्डै डेढसय कार्यकर्ताहरुले प्रतिरोध गर्दागर्दै पनि अध्यक्ष ज्युलाई प्रहरीले लछारपछार पार्दै यहाँबाट उठाएर लगेको छ,” सदभावना केन्द्रीय सदस्य उपेन्द्र महतोले हिमालखबरलाई भने, “जाँदा जाँदै अध्यक्षले आफूलाई जहाँ लगे पनि आफ्नो अनशन जारी नै रहने बताउनु भएको छ ।”
महतोलाई अस्पताल लगे लगत्तै सदभावनाका अन्य कार्यकर्ताहरुले अहिले उक्त स्थानमा अनशन शुरु गरेका छन् । प्रहरीले महतोलाई अनशन स्थलबाट उठाउने क्रममा सदभावना कार्यकर्ता र प्रंहरीबीच करिब १५ मिनेट झडप भएको थियो ।
मधुमेह र उच्च रक्तचापको समस्या भएका महतोको पिसावमा एसिटोनको मात्रा बढी देखिएपछि आइसियुमा भर्ना गरिएको चिकित्सकहरुले बताएका छन् ।
————————————————————————————————————————
अनशनमा बसेका महतोको स्वास्थ्य कमजोर
चार दिनदेखि अनशनमा बसेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।
संविधानसभाको निर्वाचनको मिति तत्काल घोषणा गर्नु पर्नेलगायतका १० सूत्रीय माग राखी सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो राजधानीको शान्ति वाटिकामा चार दिनदेखि आमरण अनशनमा बसेका छन् ।
उच्च रक्तचाप र मधुमेहको समस्या झेल्दै आएका महतोले पानीबाहेक अन्य कुराहरू नखाएकाले उनको अवस्था अत्यन्त कमजोर हुँदै गएको र कुनै पनि बेला बेहोस हुन सक्ने अवस्थामा पुगेको सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी दिए ।
सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विद्याधर मल्लिक ९ जेठ साँझ अनशनस्थल पुगेर महतोको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । साथै अध्यक्ष महतोबाट उठाएका विषयवस्तुलाई सम्बोधन गर्न सरकारका तर्पmबाट भइरहेको प्रयासबारे जानकारी गराउँदै यथाशीघ्र निर्वाचन मिति तोकिने प्रतिबद्धता व्यक्त गरेको केन्द्रीय सदस्य महतोले जानकारी दिए ।
संविधानसभाको मिति तत्काल घोषणा गरेर निर्वाचन वातावरण सुनिश्चितता, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, नागरिकता वितरण निर्देशिका संशोधन लगायतका माग राखेर महतो ७ जेठदेखि अनशनमा बसेका हुन् ।

