समाचारशुक्रबार, जेठ १०, २०७०
नेकपा–माओवादी नवलपरासीमा फुट
नेकपा–माओवादी भित्र नेत्रबिक्रम चन्दको नयाँ धार जन्मदै गएको र त्यस धारप्रति असहमत हुनेहरुलाई पार्टी भित्रैबाट असहयोग हुने अवस्था आएको भन्दै नेकपा–माओवादी अवध राज्य समिति अन्तर्गत नवलपरासीका सदस्यहरुले मित्रचरण शर्माको नेतृत्वमा १८ सदस्यीय समान्तर जिल्ला संगठन समिति गठन गरेका छन् ।
समान्तर कमिटीका जिल्ला सेक्रेटरी डासीराम बस्यालका अनुसार अबध राज्य समिति एवं जिल्ला सेक्रेटरी मित्रचरण शर्मालाई इञ्चार्ज र डासीराम बस्याललाई सेक्रेटरीमा चयन गरिएको छ । त्यसैगरी कमिटीमा षडानन्द कोइराला, नारायण काफ्ले, धर्मबहादुर केसी, सुशिला हरिजन, गौसरी डाँगी, प्रकाश सुनुवार लगायतका छन् ।
उनीहरुले यसरी गठन गरेको कमिटीलाई कार्यालय टीम नाम दिईएको छ । जिल्ला सदस्यहरुको हकमा पनि बहुमत सदस्यहरु रहेको सेक्रेटरी बस्यालले दाबी गरे ।
यसबारे प्रतिक्रिया दिंदै नेकपा–माओवादीको वैकल्पिक केन्द्रीय सदस्य अशोक लम्सालले पार्टी र क्रान्तिबाट भाग्नेहरुले समान्तर समितिको नाटक रचेको आरोप लगाए । उनले एमाओवादीमा बिलय हुनका लागि बार्गेनिङ्ग गर्न समान्तर कमिटी गठन गरेको दाबी गरे ।
उनले ९ जेठमा कावासोतीमा राज्य समितिका नेताहरुका बीच आफ्नो धारण र हिसाब किताब बुझाएर समान्तर कमिटी निर्माण गरिएको जानकारी दिंदै जनस्वसेवक संघ, अखिल क्रान्तिकारीमा समेत केही दिनमा समान्तर समिति निर्माण हुने बताएका छन् ।
विद्रोही गिरी, नवलपरासी
