समाचारशनिबार, जेठ ११, २०७०
रेग्मीले प्रधानन्यायाधीश पद छोड्नु पर्छः कोइराला
प्रेस युनियन इलामले १० जेठमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति सुशील कोइरालाले कार्यपालिका र न्यायपालिकामा एउटै व्यक्ति रहन नहुने भन्दै साना दलहरूले आन्दोलन गरिरहेको अवस्थामा देशमा चुनावको वातावरण निर्माण गर्न मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पद त्याग्न तयार हुनुपर्ने बताएका छन् ।
“रेग्मीका कारणले चुनावी वातावरण बिथोलिएको देखिएको छ । त्यसैले रेग्मीले प्रधानन्यायाधीशबाट तत्काल राजीनामा दिएर सबै दललाई निर्वाचनमा ल्याउने वातावरण बनाइ दिनुपर्छ,” कोइरालाले भने ।
गत फागुन अन्तिममा कांग्रेससहित चार दलीय सहमतिअनुसार गठन भएको वर्तमान सरकारका क्रियाकलापप्रति असन्तुष्ट देखिएका कोइरालाले संविधानसभा निर्वाचनको वातावरणका लागि सबै दल निर्वाचनमा भाग लिनु जरुरी रहेको बताए ।
उनले भने, “माओवादीसहित सबै दलले चुनाव बहिष्कार गर्न चाहेका छैनन् तर, उनीहरूले न्यायपालिका र कार्यपालिकामा रहेका खिलराज रेग्मीलाई बाधक ठानेका छन्, यसैले पनि रेग्मीले निकास दिनका लागि बाटो खुला गरिदिनुपर्छ ।”
