समाचारशनिबार, जेठ ११, २०७०
आज बुद्धजयन्ती
भगवान् गौतम बुद्धको २५५७ औँ जयन्ती शान्तिको कामना गर्दै आज मुलुकभर पूजा, भजन तथा धर्मसभा, गरी मनाइँदैछ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
आजका दिन बुद्धको जन्मस्थल लुम्विनी, ज्ञानप्राप्त गरेको बोधगया, धर्म प्रचार शुरु गरेको स्थान ऋषिपत्तन र निर्वाण प्राप्त गरेको स्थान कुशीनगरलाई वौद्धधर्मावलम्वीले चारधामका रुपमा मानी मेलाभर्ने गर्दछन् ।
सरकारले २००८ साल जेठ ८ गते बुद्धजयन्तीका दिन सार्वजनिक बिदा तथा २०१२ साल फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरेको थियो ।
विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घले पनि सन् २००२ देखि आफना निकायहरूमा सार्वजनिक बिदा दिदै आएको छ ।
यसै अवसरमा आनन्दकुटी विहार स्वयम्भू तथा भगवान गौतमवुद्धको जन्मस्थल लुम्विनीमा हुने धर्मसभाको आतिथ्य मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीबाट ग्रहणगर्ने कार्यक्रम रहेको छ ।
हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।
जसमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति (१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा कमिटीका अध्यक्ष डा.बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् ।
यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्धदर्शन अध्ययन र अध्यापन हुँदै आइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को अध्ययन अध्यापन गर्दै आएको छ ।
बुद्धका उपदेशलाई धर्मका रूपमा भन्दा पनि समाजका उन्नतिका लागि आवश्यक पर्ने अर्थशास्त्र, चिकित्साशास्त्र, राजनीतिशास्त्र आदिका मार्गदर्शनका रूपमा बढी उपयोग गर्नुपर्ने आधुनिक विज्ञानको विश्लेषण छ ।
अन्तर्जगत्का कुशल चिकित्सक तथा बाह्य जगत्का कुशल वैज्ञानिक बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छ ।
सम्राट् अशोकले ई.पू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको १०८ वर्ष पुगेको छ ।
तत्कालीन कमान्डर जनरल खड्गशम्शेर राणाले सिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखि पुरातत्व विशेषज्ञ डा.फुररको सहयोगमा उक्त स्तम्भ पत्ता लगाइएको थियो ।
यसपछि सन् १९५६ मा चौथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो भने सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको थियो ।

