समाचारआइतबार, जेठ १२, २०७०

विवादास्पद बमजन पाठ्यपुस्तकमा

हिमालखबर

शुभारम्भ प्रकाशन प्रालि, काठमाडौंले प्रकाशन गरेको निजी विद्यालयमा ५ कक्षामा पढाइने ‘स्पार्क इङ्गलिस रिडर’ मा विवादास्पद तपस्वी रामबहादुर बमजनको जीवनी राखिएको छ ।

‘रामबहादुर बमजन’ शीर्षकको तीन पेजको जीवनीमा खाना र पानी नखाई ६ वर्षसम्म रामबहादुरले तपस्या गरेको उल्लेख छ ।

बारा रतनपुरी–५ का रामबहादुरले तपस्यास्थलमा भेट्न पुगेका लामा गुरुहरूलाई दिएको जानकारी भन्दै ‘दुई वटा नागले खुवाएर आफूलाई बचाएको’ भनिएको छ ।

‘सानै उमेरदेखि अध्ययन, ध्यान र पूजामा रुचि राख्ने ज्ञानी’ भन्दै प्रशंसा गरिएको सो पाठमा रामबहादुरलाई सिद्धार्थ गौतम बुद्धको पुनर्जन्म समेत भनिएको छ । बमजनबारे विश्वास गर्न नसकिने यस्ता अनेकौं विवरण त्यो पाठमा छन् ।

विवादास्पद रामबहादुर

सो पाठमा रामबहादुरसँग जोडिएका विवादास्पद र शंकास्पद कुनै घटना पनि उल्लेख छैनन् । उनका दाजु गंगाजितको भनाइ भन्दै २ जेठ २०६२ देखि रतनपुरीको जंगलमा रामबहादुरले ध्यान गर्न थालेको लेखिएको छ ।

तपस्यामा बस्नुअघि उनले ज्ञानको खोजीमा भारतको देहरादुन, लुम्बिनी र पोखराको भ्रमण गरेको उल्लेख छ । जबकि, ध्यान शुरू गर्नुअघि उनी निजगढका एक व्यापारीको पोखरास्थित ससुरालीको चामल मिलमा काम गर्दा शरीरको तल्लो भाग चल्न छाडेपछि बारा फर्केका थिए ।

७ वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेका जस्ता रामबहादुरका विवादास्पद क्रियाकलाप देखेका बारा निजगढका शिक्षक श्याम खरेल त्यस्ताको जीवनी पाठ्यक्रममा समावेश हुनु आश्चर्यजनक भएको बताउँछन् ।

त्यो अवधिमा उनले जंगलमा घाँस दाउरा खोज्न गएका मनहर्वा र रतनपुरी गाविसका चार दर्जन भन्दा बढी गाउँलेलाई हातपात गरेका थिए भने रिपोर्टिङ गर्न त्यहाँ पुगेका संचारकर्मीहरूलाई उनका अनुयायीहरूले आक्रमण गरी क्यामरा फुटाइदिएका थिए ।

डेढ वर्षअघि स्लोभाकियाकी ३५ वर्षीया सुजना टकाज (मारिची) र सिन्धुपाल्चोककी एक वृद्ध महिलालाई बोक्सी भन्दै तीन महीनासम्म उनले बन्धक पनि बनाएका थिए । त्यसअघि पनि उनले एक गोठालोलाई ‘जासूस’ भन्दै तरबार प्रहार गरी घाइते बनाएका थिए ।

एक वर्षअघि बाराको हलखोरिया जंगल छाडेका रामबहादुर अहिले सर्लाहीको पत्थरकोट–१ मा आफन्तको घरमा बस्छन् । हलखोरिया छाडेपछि उनी सिन्धुलीको कमलामाई नगरपालिका गएका थिए ।

त्यहाँ पनि स्थानीयसँग विवाद भएर बस्न नसकेका उनी हलखोरिया फर्कने तयारीमा रहेको थाहा पाएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरी त्यहाँ उनका अनुयायीले बनाएका दुई पक्की घर भत्काएको थियो ।

“फेरि हलखोरियामै आउँदैछन् भन्ने थाहा पाएर प्रहरी परिचालन गरेर रोकेका हौं”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत थमनसिंह थापा भन्छन् ।

लामो समय ‘धार्मिक इस्यु’ भन्दै रामबहादुरका क्रियाकलापबारे मौन रहेको जिल्ला प्रशासन गुरुलाई रातो पासपोर्ट र नागरिकता दिन माग गर्दै उनका अनुयायी सडकमा उत्रिएपछि आक्रोशित बनेको थियो ।

गोकुल घोरसाइने, बारा

हिमालको १२-१९ जेठ अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>