समाचारआइतबार, जेठ १२, २०७०
मापसे जाँच निरन्तर आवश्यकः जनमत
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउन नपाउने व्यवस्था गरेअनुसार ट्राफिक प्रहरीले मापसे चेकजाँच गरिरहेको छ । गत साता हिमाल ले देशका प्रमुख १२ शहरका सवारी चालकहरुलाई सोधेको ‘ट्राफिक प्रहरीले चलाइरहेको मापसे चेकजाँच तपाईंलाई कस्तो लागिरहेको छ ?’ भन्ने प्रश्नको जवाफमा ९६ प्रतिशत उत्तरदाताले यो ठीक भएको र निरन्तर चल्नुपर्ने धारणा राखे । कुल ३२९ उत्तरदातामध्ये २.७ प्रतिशतले मात्र यो गलत भएको भन्दै यसलाई रोक्नुपर्ने बताए । १.३ प्रतिशतले भने केही भन्न चाहेनन् ।
चेकजाँच शुरू भएपछि मापसे गरेर सवारी चलाउनुहुँदैन भन्ने धारणा फैलँदै मापसे गरेर सवारी चलाउने प्रवृत्ति धेरै हदसम्म दुरुत्साहित भएको देखिएको छ । मापसे जाँच ठीक भएको भन्नेमा सबैभन्दा धेरै ९२.७ प्रतिशत महिला र ८५.४ प्रतिशत पुरुष देखिएका छन् । अशिक्षित चालकहरुमध्ये ५० प्रतिशतले मापसे जाँच बन्द गर्नुपर्ने विचार राखे । सबैभन्दा धेरै स्नातकोत्तर तह वा सोभन्दा माथि पढेका ९४.४ प्रतिशतले मापसे जाँच अभियान जारी राख्नुपर्ने मत राखे । मापसे चेकजाँचलाई गलत भन्दै यसलाई रोक्नुपर्ने बताउनेमा सबैभन्दा धेरै काठमाडौंका १९.६ प्रतिशत छन् ।
कतिपयले मापसे चेकजाँच राम्रो भए पनि एउटा लिमिटसम्म छुट दिनुपर्ने बताउँदै आएका छन् । हिमाल ले सोधेको ‘एकथरीले मापसे जाँच गरे पनि एउटा लिमिटसम्म छुट दिनुपर्छ भन्ने विचार तपाईंलाई कस्तो लाग्छ ?’ भन्ने प्रश्नको उत्तरमा मिश्रित परिणाम आएको छ । ५४.७ प्रतिशत उत्तरदाताले मापसेमा लिमिट भन्ने हुँदैन भने, ४२.७ प्रतिशतले एउटा लिमिटसम्म छुट दिनुपर्ने विचार राखे । यो प्रश्नमा थाहा नपाउने र भन्न नचाहनेको संख्या समान १.३ प्रतिशत छ । मापसेमा एउटा लिमिटसम्म छुट दिनुपर्ने विचार राख्नेमध्ये १८–२४ उमेर समूहका सबैभन्दा धेरै ४२.९ प्रतिशत छन् । ६० वर्षमाथिकाले छुट दिने कुरामा असहमति जनाएका छन् । ४१.६ प्रतिशत पहाडी (हिल कास्ट), ४१.२ प्रतिशत पहाडी दलित, २९.५ प्रतिशत नेवार तथा ४० प्रतिशत मधेशी जनजातिले मापसेमा एउटा लिमिटसम्म छुट दिनुपर्ने विचार राखेका छन् ।
मापसे गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले रु.१ हजार जरिवाना गरेर ड्राइभिङ लाइसेन्समा प्वाल समेत पार्दछ । मापसे गरेकाले चलाएको सवारी पनि लैजान पाउँदैनन् । कानूनअनुसार, मापसे चेकजाँच वा कुनै पनि काममा प्रहरीले रु.२०० भन्दा बढी जरिवाना गर्न नपाउने भए पनि मापसेमा जरिवानाको अधिकार यातायात व्यवस्था विभागले प्रहरीलाई प्रत्यायोजन गरेको छ । ‘मापसे गरेको पाइएमा रु.१ हजारसम्मको जरिवाना र लाइसेन्समा प्वाल पार्ने सजाय तपाईंलाई कस्तो लागेको छ ?’ भन्ने प्रश्नमा सबैभन्दा धेरै ४६.७ प्रतिशत उत्तरदाताले यो अति नै धेरै भएकाले घटाउनुपर्ने विचार राखे । एकतिहाइ अर्थात् ३३.३ प्रतिशतले यसलाई ठीकै भएकाले कायम राख्नुपर्ने बताए भने १३.३ प्रतिशतले अहिलेको जरिवाना कम भएकाले बढाउनुपर्ने बताए ।
प्रश्न सोधिएका चालकमध्ये ६० प्रतिशत मापसे चेकजाँचमा परेको भेटियो । ४० प्रतिशत चालकले चेकजाँचमा नपरेको बताए । मापसे चेकजाँचका क्रममा ट्राफिक प्रहरीले राम्रो व्यवहार नगरेको जनगुनासो आएपछि ट्राफिक प्रहरीले सवारी चालकहरुसँग अनावश्यक प्रश्न नसोध्ने, नम्र भएर कुरा गर्ने, अपमानजनक शब्द प्रयोग नगर्ने मापदण्ड बनायो । तर, अझ्ै पनि बहुसंख्यक उत्तरदाताले प्रहरीको व्यवहार नराम्रो भएको बताए । ‘मापसे चेकजाँचमा बसेका प्रहरीको व्यवहार कस्तो पाउनुभएको छ ?’ भन्ने प्रश्नमा ५१.१ प्रतिशतले ट्राफिक प्रहरीको व्यवहार नराम्रो भएको बताए भने ४८.९ प्रतिशतले राम्रो माने । ट्राफिक प्रहरीको व्यवहार नराम्रो भएको बताउनेमध्ये सबैभन्दा धेरै पूर्वाञ्चल विकास क्षेत्रका ५१, सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका ५०, पश्चिमाञ्चल विकास क्षेत्रका ४४.४ र मध्यमाञ्चल विकास क्षेत्रका ३७.६ प्रतिशत छन् ।
अधिकांश उत्तरदाता (८८ प्रतिशत) ले मापसे चेकजाँचले मादक पदार्थ सेवन गरेर सवारी चलाउनुहुँदैन भन्ने चेतना विस्तार हुने विचार राखेका छन् । १०.७ प्रतिशतले यस्तो चेतना नआउने बताए भने थाहा छैन भन्नेको संख्या १.३ प्रतिशत छ ।
१२ जेठमा प्रकाशित साप्ताहिक खबरपत्रिका हिमालबाट
