समाचारसोमबार, जेठ १३, २०७०
निर्वाचन पुरानै व्यवस्थाअनुसार हुनुपर्छः दाहाल
१२ जेठमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको निर्वाचन पुरानै ऐन र प्रावधानअनुसार हुनुपर्नेमा जोड दिँंदै मत प्रतिशतसीमा (थ्रेस होल्ड), निर्वाचन कानून तथा अन्य प्रावधान पनि पुरानै प्रावधानअनुसार हुनुपर्ने बताएका छन् ।
संविधान सभा सदस्यको संख्या घटाउने, एक प्रतिशत थ्रेस होल्ड राख्ने विषयमा उच्चस्तरी राजनीतिक समितिमा सहमति जनाएका अध्यक्ष दाहालले पछिल्लो समय सदस्य संख्या विघटित संविधान सभाको जस्तै ६०१ नै हुनुपर्ने, थ्रेसहोल्ड राख्न नहुने बताउँदै आएका छन् । यसै विषयमा दलहरुबीच कुरा नमिल्दा निर्वाचनको मिति अहिलेसम्म घोषणा हुन सकेको छैन ।
कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, “नयाँ विधि र प्रक्रियाअनुसार हुनुपर्छ भन्दै छेडखानी गरियो भने निर्वाचन नचाहनेलाई बल पुग्छ, त्यस्तो काम कोही कसैबाट पनि नहोस्, निर्वाचन विघटित संविधानसभाको निर्वाचन जसरी भएको थियो सोहीअनुसार हुनुपर्छ ।”
दाहालले निर्वाचनसँग जोडिएका विवादित विषय दुई तीनदिनमै समाधानका लागि गम्भीर छलफल भएको र छिटै टुङ्गो लाग्ने पनि दाबी गरे ।
उनले यतिखेरको नेपाली पत्रकारिताको नैतिक मूल्य भनेको संविधानसभाको निर्वाचनलाई सफल बनाउनु, त्यसको पक्षमा जनमत सिर्जना गर्नु र जनतालाई निर्वाचनको पक्षमा परिचालन गर्नुरहेको बताउँदै निर्वाचन हुँदैन कि भनेर तपसिलका विषय उठाएर सस्तो प्रचारबाजी गर्न नहुने बताए ।
पत्रकारितामाथि भट्टराईको आरोप
एमाओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले नेपाली पत्रकारिता क्षेत्रमा विकृति र विसङ्गति भएको आरोप लगाउँदै नेपाली पत्रकारिता पूँजीवादको विकृति भएको दाबी गरे ।
भट्टराईले सञ्चारमाध्यम, घटना र विचारप्रति केन्द्रित हुनुभन्दा पनि आफैँ विषयवस्तु उठाउने र त्यसलाई नकारात्मक रूपमा प्रचार गर्ने प्रवृत्ति भएको पनि आरोप लगाएका थिए ।
