समाचारशुक्रबार, जेठ १७, २०७०
एमाओवादीले सहमति तोड्योः देउवा
नेपाल प्रेस युनियन कास्कीले १७ जेठमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेता शेरबहादुर देउवाले एमाओवादीले चार राजनीतिक दलहरुबीच भएका सहमति र सम्झौता पालना नगर्दा निर्वाचनको वातावरण बन्न नसकेको आरोप लगाएका छन् ।
नयाँ संविधान निर्माण र लोकतन्त्रको सुदृढीकरणका लागि मंसीर महिनाको पहिलो हप्ताभित्र संविधानसभाको निर्वाचन हुनै पर्ने भन्दै देउवाले निर्वाचनसम्बन्धी ऐन कानून बनेपछि मात्रै निर्वाचनको मिति घोषणा हुने बताए ।
एमाओवादी र नेकपा–माओवादी निकट विद्यार्थी सङ्गठनहरूले एकपछि अर्कोले क्याम्पसमा तालाबन्दी गर्दै गएपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि हुन नसकेको भन्दै उनीहरुको निर्वाचन गराउने मनसाय नभएको देउवाले दाबी गरे ।
संविधानसभाको निर्वाचनको लगत्तै स्थानीय निकायको पनि निर्वाचन गरिनुपर्नेमा देउवाको जोड थियो ।
