थप समाचारशुक्रबार, जेठ १७, २०७०
पुस्तकबाट भएको कमाई चेपाङ विद्यार्थीका लागि
‘खान पुगोस् दिन पुगोस’ र ‘भूमध्य रेखा’ पुस्तकका लेखक रविन्द्र मिश्रले पुस्तक विक्रीबाट उठेको रकममध्ये ४ लाख ७८ हजार चितवनको अन्त्योदय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहयोगका लागि उपलब्ध गराएका छन् । त्यस्तै ब्यवसायी उपेन्द्र महतोको ४० हजार सहयोग समेत गरी कुल ५ लाख १८ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।
कोषको लागि पुस्तक लेखेर आएको लेखस्व रकम १६ जेठमा पत्रकार तथा लेखक रविन्द्र मिश्रले मितेरी फाण्डेशनलाई हस्तान्तरण गरेका हुन् ।
अन्त्योदयल विद्यालयमा एक सय ८६ चेपाङ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको शिक्षा र बसोबासको व्यवस्थाका लागि अक्षयकोष स्थापना गरिएको मितेरी फाउण्डेशन नेपालका अध्यक्ष एकल सिलवालले जानकारी दिए ।
त्यसैगरी कोषलाई नारायणगढ लेडी जेसिजले १० हजार ५ सय, शोभालक्ष्मी भोछाभोयाले ५ हजार १ सय, सम्झना प्रधानले २ हजार १५ र निर्मला पण्डितले १ हजार १ सय ११ रुपैयाँ थप सहयोग गरेका छन् ।
सविता श्रेष्ठ, चितवन

