समाचारशनिबार, जेठ १८, २०७०
हुम्लामा सीता एयरको विमान दुर्घटना, सबै सकुशल
नेपालगञ्जबाट कार्गो लिएर उडेको विमान १८ जेठ विहान ७:१० बजे दुर्घटनाग्रस्त भएको हो । सिमकोट विमानस्थलमा बाक्लो हुस्सु लागेको थियो । आकाशमा दुई फन्को लगाउदा पनि हुस्सु नखुलेपछि तेस्रो पटकमा चालकले विमान अवतरणको प्रयास गरेका थिए । विमान रन वे मै भएका कारण अन्य विमानको हुम्ला उडान रद्द भएका छन् ।
विमानको तीन पांग्रा र देब्रे पंखामा क्षती पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए । सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर परशुराम चौधरीले अवतरणका क्रममा पंखा धावनमार्गमा धस्सिएर दुर्घटना भएको बताए ।
नेपालगञ्जबाट विहान कार्गो लिएर उडेको ९ एनएएच बी कलसाइनको विमानमा चालक दलका दुई र पाच यात्रु थिए । विमान चालक किरण भट्टराई र सहचालक दीपक शाहले उडाएका थिए ।
विमाजनमा नापी कार्यालय हुम्ला प्रमुख खगेन्द्र भण्डारी, बाँकेको होलिया–९ का जेनेरेटर मेकानिक अस्कर शेक, हुम्ला सिमकोट–३ का विद्यार्थी धिरज रावत, हुम्ला खगालगाँउका व्यापारी नाक्वेल तामाङ र हुम्ला मेल्छामका किसान धुर्मी शाही सकुशल रहेको प्रजिअ मानन्धरले जनाए ।
१३ जेठ २०७० मा पनि सोही विमानस्थलमा अवतरणका क्रममा गोमा एयरको जहाज दुर्घटना भएको थियो ।
तुफान न्यौपाने
