समाचारमंगलबार, जेठ २१, २०७०
दोलखामा वाइसिएलको शक्ति प्रर्दशन
कबाडी सामानको विषयमा तरुण दलका स्थानीय नेता सोनु शेर्पा र वाइसिएल नेता नविन जिरेलबीच १९ जेठमा झगडा भएपछि प्रहरी भ्यानभित्रै वाइसिएल कार्यकर्ताहरुले सोनु शेर्पालाई कुटपिट गरेका थिए । कुटपिटको विरोधमा २० जेठमा तरुणदलले दोलखा बन्द गराएको थियो भने पछि स्थानीय प्रशासन, ब्यवसायी, नागरिक समाजको दबाबमा दुवै पक्षले विवाद नगर्ने भन्दै सहमति गरेका थिए ।
२० जेठमा पाँच बुँदे सहमति गरेको वाइसिएलले त्यसको अर्को दिन २१ जेठमा उक्त सहमति नमान्ने भन्दै शक्ति प्रर्दशन गरेको छ ।
प्रर्दशनपछि भएको कोण सभामा वाईसिएल तथा एमाओवादी नेताहरुले गैर कानूनी कामलाई वाईसिएलले निरुत्साहित गर्ने भन्दै सहमति नमान्ने बताएका छन् ।
काठमाडौंबाट झण्डै ७० वटा मोटरसाईकलमा आएका एमाओवादी कार्यकर्ताहरुले चरिकोट बजारमा मोटरसाईकल ¥याली पनि गरेका थिए ।

दोलखा सभापति ताराबहादुर कोईराला, दोलखाको प्रहरी प्रमुख ओमप्रसाद अधिकारीसंगै माओवादी नेतृ देवी खड्का कांग्रेस कार्यालय अगाडि
जुलुशमा झडप हुने आशंकामा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो भने सम्भावित झडपलाई रोक्न एमाओवादी नेतृ देवी खड्का नेपाली कांग्रेस पार्टी कार्यालयमा नेपाली कांग्रेस जिल्ला सभापति ताराबहादुर कोईरालासँगै बसेकी थिइन् ।
२० जेठमा भएको सहमतिमा दुई पक्ष बीच भएको झगडाको विषयलाई लिएर कुनै दुस्मनी नराख्ने, विवादको विषयमा कतै उजुरी नगर्ने, झडपमा घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने, एकअर्का प्रति लगाएको आरोप प्रति आत्मआलोचना गर्दै त्यसलाई फिर्ता लिने र आगामी दिनमा कुनै पनि गैर कानूनी कामलाई दुबै पक्षले संरक्षण नगर्ने सहमति भएको थियो ।
सर्मिला बुढाथोकी, दोलखा

