समाचारमंगलबार, जेठ २१, २०७०
माडीका माओवादी पीडितले रकम नलिने
न्यायलाई छल्न पैसाको प्रपञ्च रचिएको भन्दै सरकारले उपलब्ध गराएको रकम नलिने निर्णय गरेको बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले बताएका छन् ।
गत फागुनमा भएको प्रथम माडी महोत्सवको उद्घाटनका लागि माडी पुगेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटनाका पीडितले आफ्नो स्वविवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट ६० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।
त्यसपछि शान्ति तथा पुनः निर्माण मन्त्रालयले जिल्ला विकास समिति चितवनलाई योजनाहरु तोकी रकम पठाएको थियो, जसमा भौतिक निर्माण र समूहगतरुपमा कृषि विकासका कार्यक्रमहरु रहेको जिल्ला विकास समिति चितवनका योजना अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
रकम निकासापछि कार्यान्वयनका लागि पहल गर्न पीडितसमक्ष पुगेका एमाओवादीका प्रतिनिधिहरुलाई आफूहरुले सो रकम नलिने भन्दै फिर्ता गरेको सङ्घर्ष समितिका उपाध्यक्ष अधिकारीले बताए ।
उनले पीडितको नाममा सामाजिक काम भन्दै काठमाडौंमा बनाइएका योजनाहरु आफूहरुलाई मान्य नहुने बताए । जहाँ बिजुली छैन त्यहाँ कोल्डस्टोर के काम ?, उपाध्यक्ष अधिकारीको प्रश्न थियो ।
यसैबीच, यस वर्ष पनि बाँदरमुढे घटना पीडित सङ्घर्ष समिति चितवनले बाँदरमुढे घटनाको स्मृतिमा शोकसभा गर्ने भएको छ ।
२३ जेठ २०६१ मा तत्कालीन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी बसमा यात्रारत ३८ जनाको ज्यान गएको थियो ।
रासस

