समाचारबिहीबार, जेठ २३, २०७०
चीनमा एक्स्पो शुरु
-किरण नेपाल, कुन्मिङ
चीनसँगै दक्षिण एशियाली तथा दक्षिण पूर्वी एशियाली मुलुकका नेताहरुद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको एक्स्पोजिसनमा यी क्षेत्रका झण्डै तीन दर्जन मुलुकका डेढ हजार भन्दा बढी प्रर्दशकहरुले भाग लिएका छन् ।
उद्घाटन समारोहमा चीनका उप–प्रधानमन्त्री मा खाईले दक्षिण पूर्वी एशियाली मुलुकसँगै अबका दिनमा दक्षिण एशियाली मुलुकसँगको आर्थिक सम्बन्ध चीनका लागि महत्वपूर्ण रहेको बताए । उनले बंग्लादेश, चीन, भारत र म्यानमार सम्मिलित बिसिआईएमको प्रस्ताव तथा चीन–पाकिस्तान आर्थिक करिडोरतर्फ चीनको प्राथमिकता भएकै कारण प्रधानमन्त्री ली केच्यांगले पदबहाली लगत्तै दक्षिण एशियाली मुलुकहरुबाटै विदेश भ्रमण सुरु गरेको स्मरण गरे ।
उनको भनाइमा चीनको पछिल्लो प्राथमिकताले यस क्षेत्रको समृद्धिकालागि नयाँ अध्याय शुरु गर्नेछ ।
दक्षिण तथा दक्षिण पूर्वी एशियाली ११ मुलुकका नेताहरुसँगै उद्घाटन गर्न कुन्मिंग आइपुगेका उपराष्ट्रपति परमानन्द झाले एक्स्पोको नारा नै अग्रगामी भएकाले चीनको यस्ता प्रयासहरुबाट ‘रिजनल इन्क्लुसिभ ग्रोथ वीथ ब्यालेन्स’ हुने बताए ।
उनले कुन्मिंग भएर दक्षिण एशियाली मुलुकमा हुने व्यापारको ऐतिहासिक महत्व रहेको बताउँदै चिनको पछिल्लो नीतिले क्षेत्रीय सद्भाव कायम राख्न मद्दत पुर्याउने धारणा राखे ।
१० जुनसम्म चल्ने यस एक्स्पोमा नेपाली प्रर्दशकहरुको पनि उल्लेख्य सहभागिता रहेको छ । झण्डै ८० जना नेपाली प्रर्दशकहरु सहभागी रहेको एक्स्पोमा अधिकांशले हस्तकला, मुर्तिकला, काष्ठकला, भाँडाकुँडा, बहुमुल्य पत्थर जडित गहनाहरु प्रर्दशनमा राखेका छन् ।
प्रदर्शनका एक सहभागी ललितपुर गाबहालस्थित नमस्ते गंगा क्राफ्टका सञ्चालक जीवन शाक्य चिनमा हुने यस्तो एक्स्पोमा पहिलो पटक उल्लेख्य संख्यामा सहभागी भएको बताउँछन् । विगत २ वर्षदेखि चीनका विभिन्न शहरहरुमा हुने साना ठूला एक्स्पोमा भाग लिँदै आएका शाक्य भन्छन्, “सामान्य शिष्टाचारका रुपमा भन्दा पनि सक्रिय रुपमा सरकारीस्तरमा यस्ता एक्स्पोहरुमा सहभागिता जनाउन सकिने हो भने नेपाली उत्पादनका लागि चिनियाँ बजार राम्रो बन्न सक्छ ।
यस्तै ठमेलस्थित थान्का हाउसका सञ्चालक बीरेन्द्र शाहीको अनुभवमा यस्ताखाले एक्स्पोको सहभागीताले उनका उत्पादनका बजार क्रमिक रुपमा बढाएको छ । उनी भन्छन्, ‘एक्स्पोमा रु. २०, २५ लाख मात्र कारोवार भएपनि बन्ने सम्बन्धले पछिसम्मको व्यापारलाई सुनिश्चित गर्छ ।’ हाल नेवारी कलाको प्रवद्र्धन गर्न गएका शाही कुन्मिंग लगत्तै बेइजिंगमा हुने एक्स्पोमा भाग लिँदैछन् ।

