समाचारबिहीबार, जेठ २३, २०७०
हार्ने डरले माओवादीले बखेडा झिक्दैछः नेपाल
एमाले नेता माधवकुमार नेपालले नेकपा–माओवादी निर्वाचनमा पराजय हुने डरले संविधान सभाको निर्वाचन विथोल्नतर्फ लागेको बताएका छन् ।
नेकपा–माओवादीलाई निर्वाचनमा सहभागी गराउन वार्ता भइरहेको जानकारी दिंदै नेता नेपालले स्ववियु निर्वाचनमा पनि हारिने डरले नेकपा–माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन विथोलेको दाबी गरे ।
धनुषाको लालगढमा २३ जेठमा खानेपानी आयोजनाको शिलान्यासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा–माओवादीले निर्वाचनको अवसरलाई छोड्न नहुने सुझाव समेत दिए ।
बिगत्मा भएको सहमतिलाई छेउ लगाएर नेपाली कांग्रेस र एमाओवादीले समेत नयाँ बखेडा झिक्न नहुने भन्दै नेपालले थपे, “नयाँ नयाँ मुद्दाहरु झिकेर कसैले बखेडा गरे चुनाब बिथोल्ने षड्यन्त्रको रुपमा लिईनेछ ।”
नेता नेपालले राष्ट्रपति र चारदलबीच पनि कुनै दुरी नरहेको दाबी गरेका थिए ।
धनुषाको लालगढमा शिलान्यास गरिएको खानेपानी आयोजनाको दैनिक क्षमता २ लाख १० हजार लिटर रहेको छ । झण्डै ५० लाखको लागतमा निर्माण हुने आयोजनाबाट बेड्डाडाबर गाबिसका १ हजार २ सय घरधुरी लाभान्वित हुनेछन् ।
इश्वरचन्द्र झा, जनकपुर
