समाचारशनिबार, जेठ २५, २०७०
एमाओवादी केन्द्रीय समिति बैठकको एजेण्डा तय
पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा २५ जेठमा बसेको बैठकले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक तथा समसामयिक विषयका एजेण्डाहरू तय गरिएको एमाओवादी महासचिव पोष्टबहादुर बोगटीले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बोगटीले केन्द्रीय समितिमा थप गर्ने केन्द्रीय सदस्यहरू, पार्टीको स्थायी समिति, पोलिटब्युरो तथा विभिन्न विभागको गठनसम्बन्धी एजेण्डा टुङ्ग्याइएको बताए ।
उत्पादन, निर्माण तथा व्यवस्थापन विभागको गठन र सो विभागको सम्बन्धमा कार्यदलले तयार गरेको प्रतिवेदनमाथि पनि बैठकमा छलफल भएको थियो । एमाओवादीले गत माघमा सम्पन्न सातौँ महाधिवेशनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि आर्थिक उन्नतिको प्रक्रियालाई अगाडि बढाउने योजना अगाडि सारेको थियो ।
त्यस्तै बैठकमा नेकपा एमालेलगायतका राजनीतिक दलबाट एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा, उर्मिला अर्याल तथा अरू नेता तथा कार्यकर्ताहरूलाई दिइने जिम्मेवारीको विषयमा समेत छलफल भएको महासचिव बोगटीको भनाइ छ ।रासस
