समाचारसोमबार, आषाढ ३, २०७०
बाढीको बबण्डर (फोटो फिचर)
गृह प्रवक्ता शंकरप्रसाद कोइरालाका अनुसार दार्चुला, कञ्चनपुर, डडेलधुरा, हुम्ला र नवलपरासी जिल्ला बढी प्रभावित भएको छ । बुटवल संवाददाता दीपक ज्ञवालीका अनुसार दाउरा निकाल्न गएका हकिज अन्सारी मुल्लाह(५६)लाई तिनाउ नदीले बगाएको छ । बाढीका कारण तिनाउ किनारका सयौं घरहरु जोखिममा छन् ।
राससका अनुसार दार्चुलाको धार गाविस–५ की सरस्वती रौखोला(३८)को महाकाली नदीमा बगेर मृत्यु भएको छ । घर नजिकै भएर बग्ने महाकाली नदीमा आएको बाढी हेर्न गएकी उनी नदीमा बगेकी थिइन् । रौखोलाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यसैबीच महाकाली नदीका दुई भङ्गाला बीचमा फसेका कञ्चनपुरका २३ जनालाई स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको सहयोगमा स्थानीयवासीले गरेका छन् ।
दार्चुलामा सेनाद्वारा उद्धार
राससका अनुसार दार्चुलाको खलङ्गा–४ र ५ मा महाकाली नदीमा आएको बाढीको प्रकोपमा परेकालाई नेपाली सेनाले उद्धार गरेको छ । ३ असार बिहान दार्चुलाको खलङ्गामा तैनाथ सेनाको गुल्मबाट ८१ जनाको टुकडी खटिई उद्धार कार्य जारी राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उद्धार टोलीले सदरमुकामस्थित जोखिममा परेका घरहरुबाट धनमाल तथा सामान सुरक्षित स्थानमा सार्ने कार्य गर्नुका साथै सरकारी कार्यालय तथा अस्पतालबाट बिरामी एवम् औषधि र उपकरण सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ । जिल्लास्थित टुँडिखेल, जिल्ला प्रहरी कार्यालय रहेको स्थान र जिल्ला वन कार्यालयमा समेत कटान भइरहेकाले ती कार्यालयका महत्वपूर्ण सामान तथा कागजातसमेत सुरक्षित स्थानमा सेनाले सारिसकेको छ ।
पहाडी तथा हिमाली जिल्लाको उडान बन्द
यसैबीच लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि ३ जेठमा नेपालगन्ज विमानस्थलबाट यस क्षेत्रका पहाडी र हिमाली जिल्लाको सम्पूर्ण उडान बन्द भएको राससले जनाएको छ । मौसममा सुधार नआएपछि नेपालगन्जबाट हुम्ला, जुम्ला, मुगु, डोल्पा, बाजुरालगायतका जिल्लाको नियमित हवाई उडान बन्द गरिएको हो ।






