समाचारबुधबार, आषाढ १२, २०७०
एकान्त कुमारीको खोजी तीव्र
एकान्त कुमारी श्रीया बज्राचार्यको गत १९ वैशाखमा साढे ११ वर्षको उमेरमा बेलविवाह गरिएपछि रिक्त कुमारी पदका लागि कुमारीको खोजी भइरहेको तलेजुका मूल नाइके नरेन्द्र जोशीले बताएका छन् ।
कक्षा २ मा पढ्दै गर्दा सात वर्षको उमेरमा एकान्त कुमारी भएकी बज्राचार्य साढे ११ वर्षको भएपछि ज्योतिषले दिएको साइतअनुसार बेल विवाह सम्पन्न भएको थियो ।
तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले एकान्त कुमारी श्रीयाले बेल विवाहपछि अवकास पाएकोले कुमारीको खोजी भइरहेको जानकारी दिए ।
भक्तपुरको बज्राचार्य वा शाक्य वंशीय कन्या मात्र कुमारी हुनुपर्ने र कुमारी हुने कन्या सबै गुणले सम्पन्न, कुनै दाग, घाउचोट नलागेको हुनुपर्ने, अपाङ्ग भएको नहुने र कुमारी बन्न इच्छुक कन्यालाई परिवारको स्वीकृतिमा कुमारीको फूल टाउकोमा राखेपछि बिरामी नपरेमा यस्ती कन्यालाई कुमारीको लागि छनोट गरिने परम्परा रहेको जोशीले बताए ।
कुमारीको लागि उपयुक्त कन्या खोजेपछि तलेजुका मूल नाइकेले उपयुक्त ठह¥याई सिफारिस गरेपछि गुठी संस्थानले ती कन्यालाई एकान्तकुमारीमा नियुक्ति गर्ने परम्परा रहेको छ ।
बहालवाला कुमारीलाई कौशितोखानाबाट रु दुई हजार २५० र गुठी संस्थानबाट रु ४५० गरी रु दुई हजार ७०० मासिक भत्ता दिइने व्यवस्था भएको र कुमारीबाट अवकाश पाएपछि पूर्वकुमारीलाई कौशितोखानाबाट रु एक हजार र गुठी संस्थानबाट रु १०० गरी मासिक रु एक हजार १०० पारिश्रमिक दिने व्यवस्था भएको पनि जोशीले जानकारी दिए ।
अहिले पूर्वकुमारीका रुपमा पारिश्रमिक पाउनेमा पूर्वकुमारीहरु गीता वज्राचार्य, पद्मसुमना शाक्य, निलम वज्राचार्य, सजनी शाक्य र श्रीया वज्राचार्य रहेका छन् ।
रासस
