समाचारबिहीबार, आषाढ १३, २०७०

पाटन क्याम्पस अनिश्चतकालका लागि बन्द

हिमालखबर

अनेरास्ववियुका घाइते विद्यार्थीहरुलाई ललितपुर जिल्ला प्रहरी कार्यालयमा भेट्न पुगेका युवा संघ अध्यक्ष महेश बस्नेत लगायत ।

ललितपुरस्थित पाटन क्याम्पसका प्रमुख अमन श्रेष्ठले सार्वजनिक सूचना जारी गर्दै दुबै विद्यार्थी सङ्गठन र एमाओवादीको वाइसिएलबीच अझै झडपको स्थिति आउन सक्ने भएकाले शैक्षिक र प्रशासनिक कार्य सुचारु गर्न नसकिने जनाएका छन् ।

क्याम्पसको विशालबजार भाडामा कमिसन खाएको, क्याम्पसमा मनोमानी ढङ्गले एमाओवादी समर्थक मात्रलाई कर्मचारी राखिएको, पठनपाठन प्रभावकारी नभएको भन्दै विरोधमा उत्रेको अनेरास्ववियुले क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध गरेपछि अनेरास्ववियु र क्रान्तिकारीबीच झडप भएको थियो ।

झडप चलिरहेकै बेला क्याम्पसमा पुगेको प्रहरीले क्याम्पसको विद्यार्थी नभएपनि लडाइँ गर्ने उद्देश्यले त्यहाँ पुगेर भिडन्तमा उत्रेका दुवै पक्षका १३ जनालाई पक्रेकामा १२ असार साँझै सबैलाई छाडिसकेको छ ।

क्याम्पसमा दुवै पक्षका विद्यार्थी र युवा जमात ओइरिएको कारण झडपको स्थिति आउन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा ५० जनाको दङगा नियन्त्रण टोली खटाइएको छ ।

झडपपछि पक्राउ गरी महानगरीय प्रहरी परिसर जावलाखेल लगिएकामध्ये एमाले निकट अनेरास्ववियुका विद्यार्थीलाई प्रहरीले भित्रै कुटपिट गरेको अनेरास्ववियुको दाबी छ ।

सोधपुछका क्रममा प्रहरीसँग विवाद गरेपछि प्रहरीले प्रतिवाद गरेको ललितपुरका प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले बताएका छन् ।

गत महिना स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन भएपछि पनि अघिल्लो कार्यकालका स्ववियु सभापति झपेन्द्र खत्रीलाई सभापतिकै हैसियतमा क्याम्पसको प्रशासनिक काम र अन्य गतिविधिमा सहभागिता जनाउन दिनुपर्ने मागलाई क्याम्पस प्रमुख श्रेष्ठले अस्वीकार गरेपछि अनेरास्ववियु क्याम्पस प्रमुखसँग आक्रोशित बनेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>