थप समाचारबिहीबार, आषाढ १३, २०७०
मण्डेलाको स्वास्थ्यअवस्था नाजुक, सहज अन्त्यको कामना
गम्भीर स्वास्थ्य अवस्थामा उपचार भइरहेको नेलशन मण्डेलालाई बुधबार रातिदेखि मेसिनबाट स्वास दिन थालिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनको अवस्था दिन प्रतिदिन कमजोर भइरहेको छ ।
नेता मण्डेलका परिवारले बुधबारदेखि नै उनको सहज अन्त्यका लागि प्रार्थना गरिरहेका छन् ।
मण्डेलाको स्वास्थ्य अवस्था सोमबारदेखि थप गम्भीर बन्दै गएपछि उनलाई राखिएको अस्पतालमा परिवारका सदस्यहरुका साथै उनका शुभचिन्तक एवम् सर्वसाधारण नागरिकको ठूलो भीड लागेको छ ।
बुधबार पनि दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकुब जुमाले मण्डेलाको स्वास्थ्य अवस्था थप नाजुक भएको सार्वजनिक गरेका छन् ।
विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेता मण्डेलाको स्वास्थ्य अवस्था विग्रदै गएपछि प्रिटोरियास्थित उनलाई राखिएको अस्पतालमा मण्डेलाको स्वास्थ्यमा सुधारको कामना गर्दै प्रार्थना पनि भइरहेको छ ।
यसैबीच दक्षिण अफ्रिकी राष्ट्रपति जुमाले आजदेखि गर्ने भनेको विदेश भ्रमण पनि स्थगित गरेका छन् । उनी छिमेकी देश मोजाम्बिक जाने कार्यक्रम थियो ।
बुधबार बिहान पूर्व राष्ट्रपति मण्डेलाको स्वास्थ्यको जानकारी लिएपछि जुमाले उक्त भ्रमण हालका लागि स्थगित गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
फोक्सोमा सङ्क्रमण देखिएपछि मण्डेलालाई जुन ८ देखि अस्तालमा भर्ना गरिएको हो ।
९४ वर्षीय मण्डेलाले गतवर्षदेखि फोक्सोको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेका छन् ।
उनलाई दक्षिण अफ्रिकाका जनताले राष्ट्रपिताका रुपमा सम्मान गर्दछन् ।
एएफपी
