थप समाचारशुक्रबार, आषाढ १४, २०७०
प्रदुषणले गर्दा उपत्यकामा श्वासप्रश्वासका रोगी बढे
पानी पर्दा हिलो र घाम लाग्दा धुलो भएर उपत्यकाका अधिकांश सडक अहिले हिँडिनसक्नुको अवस्थामा छन् । कुन कुन क्षेत्रका कति सडक विस्तार हुँदैछन्, सडक विस्तारका क्रममा कति भौतिक संरचना भत्काइयो, कति निर्माण भए, कति हुँदैछन् भन्ने सही जानकारी समेत कुनै निकायसँग छैन ।
कालोपत्र नगरिएका सडकबाट निस्केको धुलो र सवारी साधनबाट निस्केको धुँवाले दैनिक एक हजारभन्दा बढीमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले १४ असारमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा जानकारी दिइयो ।
वातावरण मन्त्रालयले गरेको एक अध्ययनका अनुसार उपत्यकामा श्वासप्रश्वास रोगबाट बर्सेनी १ हजार ६ सयले अकालमा ज्यान गुमाउनु परिरहेको छ । केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले स्वास्थ्यलाई मौलिक अधिकारमा राखे पनि सरकारले जनताको स्वास्थ्यमा खेलवाड गरिराखेको बताए ।
वातावरणविद् भुषण तुलाधरले धुलो र धुँवाबाट निस्केको प्रदूषणले कचौराको आकारमा रहेको उपत्यकाको दैनिकी अस्तव्यस्त बनाएको र यसतर्फ कुनै निकायले ध्यान नदिएको बताए ।
विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययन अनुसार उपत्यकामा ४० प्रतिशत आफ्नो गन्तव्यमा जान पैदल नै हिँड्ने गर्दछन् । तर सडकमा पैदलमार्गीका लागि कमै मात्र स्थान छुट्याइएको छ ।
