समाचारशनिबार, आषाढ १५, २०७०
राष्ट्रिय धान दिवस मनाइँदै, उत्पादन घट्दो
यो वर्ष “धान उत्पादनमा वृद्धी, राष्ट्रिय अर्थतन्त्रको समृद्धी” भन्ने नारासहित धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक वर्ष धान दिवस मनाइँदै आएको छ ।
धान दिवसका अवसरमा आज ललितपुरको खुमलटार र भक्तपुरमा विशेष कार्यक्रम आयोजना हुने कृषि विकास मन्त्रालयले जनाएको छ । यसैगरी विभिन्न राजनीतिक दलका किसान सङ्गठनहरूले पनि धान दिवसका अवसरमा आज विशेष कार्यक्रमहरू आयोजना गर्दैछन् ।
हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको विज्ञहरूको भनाइ छ । पोहोरको तुलनामा यसपाली धानको उत्पादन ११ प्रतिशतले घटेको छ ।
नेपालमा करिब ९० अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने गरेको छ । कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भरपर्नुपर्ने स्थिति छ । उन्नत जातको बिउको प्रयोग निकै कम हुनु, समयमा रासायनिक मल उपलब्ध नहुनु, अधिकांश कृषकहरु परम्परागत खेतिमै निर्भर रहनुले पनि धानको उत्पादनमा बृद्धी हुन नसकेको हो ।
