समाचारशनिबार, आषाढ १५, २०७०
जनताको हाँसो खोसिएको छः पूर्व राजा
१५ असारमा हिमानी ट्रष्टको वार्षिक साधारण सभामा सहभागी भएका ज्ञानेन्द्र शाहले जनताको सुख–दुःख बुझ्न आफू उनीहरुको घरदैलो पुगिरहेको भन्दै जनताको मुहारबाट हाँसो खोसिएको बताएका छन् । उनले के कारणले जनताको मुहारमा हाँसो खोसिएको हो त्यसको खोजी गरिनुपर्ने पनि बताए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व राजा शाहले आगामी संविधानसभाको निर्वाचनमा सबैले भाग लिन पाउने वातावरणको निर्माण हुन जरुरी भएकोमा जोड दिए ।
निर्वाचनमा सबैले भयरहित र निष्पक्ष रुपमा भाग लिन पाउने वातावरण निर्माण गर्न आग्रह गर्दै उनले निर्वाचन प्रजातन्त्रिक प्रक्रिया भएकाले निष्पक्ष र धाँधलीरहित हुनुपर्ने धारणा राखे ।
उनले मुलुकको सुदुर तथा मध्य पश्चिमका केही जिल्लामा बाढी पहिरोबाट प्रभावितहरुको राहतका लागि २५ लाख रुपैयाँ समेत प्रदान गरेका छन् । आफूले प्रदान गरेको रकम हिमानी ट्रष्टमार्फत खर्च गरिने पनि शाहले जानकारी दिए ।
कार्यक्रममा ट्रष्टकी अध्यक्ष हिमानी शाहले पीडितहरुलाई सहयोग गर्न आफू प्रभावित क्षेत्र जाने तयारीमा रहेको जानकारी दिएकी थिइन् ।
