समाचारआइतबार, आषाढ १६, २०७०
चितवनमा एमाओवादीद्वारा १८ विगाह जग्गा कब्जा
१५ असारमा ब्यवसायी कुमारदास श्रेष्ठको १८ विगाह ४ कठ्ठा १५ धुर जग्गा एमाओवादी कार्यकर्ताहरुले झण्डा गाडेर कब्जा गरेको घोषणा गरेका छन् ।
वि.सं. २०२० मा जंगल फडानी गरेर गौचरनको रुपमा रहेको जग्गा श्रेष्ठले झुक्याएर जबरजस्ती आफ्नो नाममा दर्ता गरेकोले कब्जा गरिएको किसान महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष शिव रेग्मीले दाबी गरे ।
अहिले सात परिवारले सो जमिनको उपभोग गर्दै आएका छन् ।
०५९ सालमा समेत झण्डा गाडेर जग्गा कब्जा गरेपनि श्रेष्ठ सम्पर्कमा नआएको र अहिले उक्त जग्गा उपभोग गरिरहेका गरीबहरुको उठिबास लगाउने अभीप्रायले जग्गा बेच्न खोजिएपछि जग्गा कब्जा गरिएको अध्यक्ष रेग्मी बताउँछन् ।
उनले कब्जा जग्गा फिर्ता नगर्ने र आर्थिक स्तर कमजोर भएका दलित परिवारलाई दिने पनि बताएका छन् ।
सविता श्रेष्ठ, चितवन
