थप समाचारआइतबार, आषाढ १६, २०७०
सरकार झुठो बोलिरहेको छः कांग्रेस विधायक
शैला रानी रावत
विधायक, केदारनाथ, भारत

भारतको उत्तराखण्डमा आएको बाढीले ल्याएको विपत्तिपछि केदारनाथकी कांग्रेस विधायकले आफ्नै पार्टीको सरकारले जनतालाई बेवास्ता गरेको आरोप लगाएकी छन् ।
केदारनाथमा जब जल–प्रलय आयो त्यसबेला मैले शासन–प्रशासनलाई दोस्रो दिन नै एक हजार व्यक्ति वेपत्ता भएको वा जल–प्रलयमा बगेको बताएकी थिएँ, तर सरकारले मेरो कुरा सुनेन ।
मेरो आफ्नै जिल्लाका कम्तीमा पनि १२०० व्यक्तिको ज्यान गएको छ तर सरकारले गलत तथ्याङ्क प्रस्तुत गरिरहेको छ । उदेक लाग्दो कुरा, यति धेरै मान्छे मारिएका छन् र तपाई झूठो तथ्याङ्क प्रस्तुत गर्दै हुनुहुन्छ ।
म त्यहाँकी विधायक हुँ र सरकारले आजसम्म मसँग कुनै छलफल गरेको छैन, न त क्षेत्रका प्रभावित व्यक्तिहरुलाई कुनै सुविधा नै दिएको छ ।
प्रभावित व्यक्तिका परिवारहरुसँग म भेट्न गएँ, मानिसहरु रोइरहेका छन् । उनीहरुले आफन्त गुमाएका छन्, आफ्नो सम्पत्ति गुमाएका छन्, तर सरकार झुठो माथि झुठो बोलिरहेको छ ।
म त्यहाँकी विधायक हुँ र पूरै विश्वासका साथ भनिरहेकी छु मर्नेहरु १० हजारभन्दा बढी छन् ।
वास्तविकता
यिनीहरु बुझ्नै सक्दैनन्, हवाई यात्रा गर्छन । जमिनको कुरा र समस्या बुझ्नै सकेनन् । वास्तवमा सरकारसँग कुनै योजना नै छैन, कुनै एक्शन प्लान नै छैन ।
उनीहरु आउँछन्, हतारमा मिटिंग गर्छन् र फेरि आश्वासन दिएर जान्छन् ।
यहाँ अधिकारीहरुको तैनाती पनि ठिकसँग भएको छैन । प्रत्येक तीन महिनामा जिल्ला अधिकारी फेरिन्छन् । मैले पछिल्लो डेढ वर्षदेखि यसबारेमा सचेत गराउँदै आएकी छु तर सरकारले यी कुराहरुलाई कहिल्यै गम्भीरतापूर्वक लिएन ।
मैले दुई दिनअघि नै सेनालाई तैनात गराउनु पर्ने माग गरेकी थिएँ र यदि त्यसो गरिएको भए हामी दुई–तीन हजार मानिसलाई मृत्युको मुखबाट बचाउन सक्थ्यौं ।
