थप समाचारआइतबार, आषाढ १६, २०७०
विद्यालयबाटै कम्प्युटर इञ्जिनियरिङ
एसएलसी सकेपछि कम्प्युटर इञ्जिनियरिङ पढ्ने योजना बनाउँदै गरेकी तनहुँको सत्यवती उच्च माविकी छात्रा दुर्गा जिसीले ९ कक्षामै त्यो अवसर पाइन् ।
सरकारले यो वर्ष विद्यालयमा प्राविधिक शिक्षा शुरू गरेको १०० विद्यालयमा सत्यवती परेपछि दुर्गा जस्तै ४८ जना विद्यार्थी अहिले कम्प्युटर इञ्जिनियरिङको प्राथमिक कक्षा पढ्दै छन् ।
यो कक्षा पढेका विद्यार्थीले एसएलसी पास गरेपछि सव–ओभरसियरको प्रमाणपत्र पाउँछन् । विद्यालयका सहायक प्राचार्य राजेन्द्र खनाल सव–ओभरसियरको त्यो प्रमाणपत्रले विद्यार्थीलाई रोजगारी दिलाउन सघाउने बताउँछन् ।
विद्यार्थी र अभिभावकलाई उत्साहित बनाएको यो कक्षा पढ्नेलाई इञ्जिनियरिङ पढ्न सहज बनाउने पनि उनी बताउँछन् । विद्यालयका प्राचार्य इन्द्रप्रसाद पौडेल पनि सरकारले शुरू गरेको यो कार्यक्रम विद्यालय शिक्षा प्रणालीमै नयाँ फड्को भएको धारणा राख्छन् ।
९ कक्षाबाट शुरू भएको कम्प्युटर कक्षा आगामी वर्ष १० मा र त्यसपछि कक्षा ११ र १२ मा पनि पुर्याउने विद्यालयको योजना छ ।
पवन पौडेल, तनहुँ
१६ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

