समाचारआइतबार, आषाढ १६, २०७०
कोशी ग्याँसमा ठगी, डिलरमा प्रहरीको शील
कावासोतीस्थित सृजना इन्टरप्राइजेजले बिक्री गरेका सिलिण्डरमा तीन किलो सम्म तौल कम भएको फेला परेपछि प्रहरीले इन्टरप्राइजेजमा ताला लगाई शील गरेको छ ।
ग्राहकले घरमा लगेका ग्याँसका सिलिण्डर हल्का भएपछि शंका लागेर तौल गर्न ल्याउँदा कम तौल भेटिएको थियो । त्यसपछि प्रहरीले इन्टरप्राइजेजमै गएर तौल गरेका १८ वटा सिलिण्डरमध्ये सबैमा कम तौल भेटिएको ईलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी निरिक्षक मोहन अधिकारीले जानकारी दिए ।
गैंडाकोटमा रहेको कोशी ग्याँसका सिलिण्डरहरु कावासोतीमा बिक्री गरिएको थियो । घरायसी प्रयोजनका लागि बिक्री गर्ने सिलिण्डरमा सरदर दुई किलो र ब्यवसायिक प्रयोजनका सिलिण्डरमा तीन किलो सम्म तौल कम भएको कावासोतीका होटल ब्यबसायी श्यामलाल बस्यालले बताए ।
प्रहरीले कोशी ग्याँसका प्रबन्धक छत्रप्रसाद लुइटेल, लेखा शाखाका नन्दु शर्मा, सृजना इन्टरप्राइजेजका रामकृष्ण पुडासैनी लगायतलाई नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरेले दोषि पहिचान गरेर कानूनी दायरमा ल्याउने कार्य शुरु भएको बताएका छन् । “फ्याक्ट्री र डिलरको दोष छ, दुबैलाई अनुसन्धान गर्न निर्देशन गरेको छु दोषीलाई कारबाही हुन्छ,” प्रजिअ घिमिरेले भने ।
प्रहरीले घटना स्थलबाट कम तौल भएका सिलिण्डर र एउटा काठको बाकस बरामद गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
ग्याँसमा कम तौल देखिएपछि सबै ग्याँसहरुको गुणस्तर र तौल मापन गर्न कावासोतीबासीले माग गरेका छन् ।
विद्रोही गिरी, नवलपरासी
