समाचारआइतबार, आषाढ १६, २०७०
पानी ब्यवसायीको आन्दोलन फिर्ता
बोत्तल, जार र ट्याङ्करको पानीमा भर परेको राजधानीमा पानीको बिक्री वितरण बन्द हुँदा हाहाकार हुन थालेको थियो । सरकारले ब्यवसायीका मागहरु सम्बोधन गर्न कार्यदल गठन गर्ने सहमतिसमेत गरेको छ ।
ब्यवसायीहरुका मागका सम्बन्धमा १६ असारमा शहरी विकास मन्त्रालय र ब्यवसायीबीच भएको वार्तामा उक्त सहमति भएको हो ।
ब्यवसायीहरुले ट्याङकर आयातमा भन्सार छुट दिनुपर्ने, दर्ता भएका उद्योग सार्दा वा बन्द गर्दा क्षतिपूर्ति दिनुपर्ने, विभिन्न समस्याले बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउनुपर्ने, स्थानीयस्तरबाट आउने हस्तक्षेप रोक्नुपर्ने र स्वीकृत स्रोतलाई हचुवाका भरमा बन्द गर्न नहुने, व्यवसायीको स्तर वृद्धि, उद्योग तथा ट्यांकर स्थानान्तरणमा उचित क्षतिपूर्ति लगायतका माग राखेर तीन दिनदेखि राजधानीमा पानीको बिक्री वितरण ठप्प पारेका थिए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार राजधानीमा दैनिक ३५ करोड लिटर पानीको माग रहेकोमा झण्डैं आधा निजी क्षेत्रले आपूर्ती गर्दै आएको छ।
पछिल्लो समय सरकारले राजधानीका पानी उद्योगहरुमा अनुगमन गर्न थालेपछि ब्यवसायीहरुले पानीको आपूर्ति ठप्प पारेका थिए ।
उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघ, नेपाल बोटल वाटर उद्योग संघ, उपत्यका खानेपानी ट्याङ्कर तथा वोरिङ व्यवसायी संघ र अखिल नेपाल यातायात मजदुर संघ ट्याङ्कर मुल समितिले संयुक्त रुपमा ढुवानी, बिक्री-बितरण ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।
