समाचारआइतबार, आषाढ १६, २०७०
विवाद चर्केपछि एमाओवादीको विस्तारित बैठक आह्वान
एमाओवादीभित्र पदका आकांक्षी धेरै हुँदा विवाद समाधान गर्ने पटकपटकको प्रयास असफल भएपछि ४ साउनमा पार्टीले विस्तारित बैठक बोलाएको छ ।
१६ असारमा बसेको केन्द्रीय कमिटीको बैठकले पदीय भागवण्डा मिलाउन नसकेपछि विस्तारित बैठक आह्वान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
पार्टीमा पदका आकांक्षी धेरै भएको र पार्टीभित्र संसदीय खेल बढेको भन्दै १५ असारमा उपाध्यक्ष बाबुराम भट्टराईले पद त्यागको घोषणा गरेका थिए । १६ असार बिहान बसेको पदाधिकारी बैठक र अनौपचारिक छलफलमा समेत भट्टराईलाई पदत्यागको निर्णय फिर्ता लिन आग्रह गरिए पनि भट्टराईले उक्त निर्णय फिर्ता लिन नमानेको एमाओवादी स्रोतले जनाएको छ ।
पदीय भागवण्डामा कुरा नमिलेपछि अध्यक्ष पुष्पकमल दाहालसहितका पदाधिकारीहरुले विभिन्न ब्यूरो तथा राज्य समितिका नेताहरुस“ग सामूहिक र अलगअलग छलफल समेत गरेका थिए । तर सबै जसो बैठकमा सहभागी उपाध्यक्ष भट्टराईले पार्टीभित्र पदलोलुपता र संसदीय खेल बढेकाले आफूलाई दिक्क लागेको भन्दै पद त्यागको घोषणा गरेकाले निर्णय फिर्ता नलिने अडान व्यक्त गरेका थिए ।
अध्यक्ष दाहालले पार्टी महासचिवको जिम्मेवारी पोष्टबहादुर बोगटीलाई नै दिने र सचिवहरुमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेलको नाम प्रस्ताव गरेका थिए । यस्तै कोषाध्यक्षका लागि हिसिला यमीको नाम सिफारिस भएको थियो ।
दाहालले ९ पदाधिकारी, २५ पूर्णस्थायी, सात वैकल्पिक स्थायी, ५१ पोलिटब्यूरो, २४ वैकल्पिक पोलिटब्यूरो र एक सय ५१ पूर्ण केन्द्रीय सदस्य रहने सांगठनिक प्रस्ताव पेश गरेका थिए ।
अध्यक्षको प्रस्ताव केन्द्रीय समितिमा निकै आलोचित भएको थियो ।
