समाचारसोमबार, आषाढ १७, २०७०
‘विस्तारित बैठकपछि भट्टराई उपाध्यक्षमा फर्कने’
रिपोर्टर्स क्लब नेपालले १७ असारमा राजधानीमा आयोजना गरेको साक्षात्कारमा एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले ४ साउनमा हुने पार्टीको विस्तारित बैठकपछि बाबुराम भट्टराई उपाध्यक्ष पदमा फर्किएर एमाओवादीमै सक्रिय रहने बताएका छन् । उनले भने, “ उहाँले अर्को पार्टी पनि खोल्नु हुन्न, पार्टी पनि छाड्नु हुन्न । विस्तारित बैठकबाट उपाध्यक्षमा फर्कनुहुन्छ ।”
साक्षात्कारमा सापकोटाले कम्यूनिष्ट पार्टीभित्र संधै एकै जनाले नेतृत्व गरिरहने अवस्था नहुने भएकोले त्यसलाई स्थापित गराउन उपाध्यक्ष भट्टराईले पदत्यागको घोषणा गरेको दाबी गरे ।
“अहिले नै नेतृत्वले पद छाडिहाल्नु पर्ने बेला भएको छैन । तर अब तयारी गर्दै जानु पर्छ ।”
उनले पार्टी भित्र नेतृत्वको श्रृंखला बनेपछि नेतृत्व हस्तान्तरण हुँदै जाने भन्दै त्यसबेला अहिलेका नेतृत्व बैचारिक र राजनीतिक सल्लाह दिने उच्च पदमा रहने बताए ।
विस्तारित बैठकले अध्यक्षको सांगठनिक प्रतिवेदन, संगठन सम्बन्धी नियमावली, पदविभाजन, कार्य विभाजन र भट्टराईको त्यागपत्रको समिक्षा र निर्वाचन अभियान सम्बन्धी रणनीति बनाउने जानकारी दिदै त्यसपछि एक भएर एमाओवादी चुनावमा होमिने सापकोटाको भनाई थियो ।
नेकपा–माओवादीले राखेको गोलमेच सम्मेलनको माग पुरानो भएको भन्दै उनले पोखरामा जारी केन्द्रीय समितिको विस्तारित बैठकले चुनाव बहिस्कारको निर्णय गरे ऊ आफैं राजनीतिक घेराबाट बाहिरिने चेतावनी दिए ।
साक्षात्कारमा नेकपा एमालेका नेता रघुवीर महासेठले सहमतिमा आउन नचाहनेका विरुद्ध बल प्रयोग गरेर भए पनि ४ मंसीरमा संविधानसभाको निर्वाचन गराएरै छाड्नु पर्ने बताए ।
उनले भने, “भारतमा पनि आसाम लगायतका ठाँउमा विद्रोहीहरुले चुनाव नगर्न दवाव दिन्छन्, नेपालमा पनि माओवादीले चुनाव नगर्न दवाव दिएकै हो तर बल प्रयोग गरेर भए पनि चुनाव गर्नु पर्छ ।”
मधेसवादी दलका नेताहरुलई देश र जनताप्रति कुनै मतलब नभएको र उनीहरुलाई एमाओवादीले थामेर हिडेकोले निर्वाचन प्रतिको एमाओवादीको प्रतिबद्धतामा आशंका उत्पन्न भएको महासेठको भनाई थियो ।
