थप समाचारसोमबार, आषाढ १७, २०७०

चिया किसानको कारखाना बन्दै

हिमालखबर

साना किसान सहकारी संस्थाले खोलेको चिया कारखाना । तस्वीरः गोपाल गड्तौला

“साहुलाई हरियो पत्ती बेच्ने यो अन्तिम वर्ष हो” अर्को वर्षदेखि आफू जस्तै साना किसानहरूले मिलेर खोलेको कारखानामा चियाका पत्ती दिन पाउने भएपछि खुशी भएकी झापा पृथ्वीनगर–६ की इन्दिरा भट्टराईले भनिन् ।

उनको समेत लगानी रहेको ‘साना किसान सहकारी संस्था’ ले खोलेको चिया कारखानाको निर्माण अन्तिम चरणमा पुगेकोमा उनी जस्तै अरू किसान पनि उत्साही छन् ।

२०५४ मा स्थापना भएको साना किसान सहकारीले त्यही बेला चिया कारखाना बनाउने योजना बनाएको थियो । पछिल्ला दुई वर्षमा कृषि मन्त्रालयले रु.३ करोड १० लाख अनुदान दिएपछि त्यो योजना कार्यान्वयनको बाटोमा अघि बढ्यो ।

त्यसपछि सहकारीमा आवद्ध किसानले रु.२० हजारदेखि रु.१ लाखसम्मको शेयर आपसमा बाँडेर रु.२ करोड ५० लाख उठाए ।

तर, कारखाना निर्माणमा अहिलेसम्म रु.५ करोड २५ लार्ख खर्च भइसकेकाले किसानहरूले अझ्ै शेयर बाँडिरहेका छन् ।

कारखानाको मेशिन सेट भइसकेकाले साउनदेखि चिया उत्पादन गर्न सकिने विश्वासमा रहेका कारखानाको उत्पादन एकाइका प्रमुख चूडामणि खतिवडा भन्छन्, “चियाको नाम पनि साना किसान चिया नै राख्ने निधो गरेका छौं ।”

दैनिक २५ हजार केजी हरियो चियापत्ती प्रशोधन गर्ने क्षमताको कारखानाले दैनिक ६ हजार केजी तयारी सीटीसी चिया उत्पादन गर्न सक्ने खतिवडा बताउँछन् ।

चियामा फाइदा

चियाबारीमा झापा पृथ्वीनगरकी इन्दिरा भट्टराई । तस्वीरः गोपाल गड्तौला

बलौटे दोमट माटोमा चिया धानभन्दा बढी उत्पादन हुने भएकाले त्यस्तै माटो भएको पृथ्वीनगरमा साढे तीन सय साना किसानले चिया लगाएका छन् ।

पृथ्वीनगरसहित घेराबारी, बालुबाडी, बनियानीलगायत गाविसका किसानले दैनिक सरदर ६० हजार केजी हरियो चियापत्ती झापादेखि इलामसम्मका कारखानालाई बेच्छन् । साहुले तोकेको मूल्यमा चिया बेच्नुपर्ने भएकाले साना किसानले आफैं चिया कारखाना निर्माण गरेका हुन् ।

घरछेउको साढे आठ कट्ठा जमिनमा रोपेको चियाबाट खर्च कटाएर गत वर्ष नै रु.८० हजार आम्दानी गरेकी इन्दिरालाई सहकारीको कारखाना चल्न थालेपछि आम्दानी अरू बढ्ने आशा छ ।

पानी नजम्ने उनको जस्तो भिरालो जमिनमा चियाभन्दा अरू खेतीबाट त्यति आम्दानी नहुने उनको अनुभव छ ।

एक बिघा (१३ रोपनी) जमिनमा सामान्यतः चियाका आठ हजार बिरुवा रोपिन्छ । रोपेको पाँच वर्षदेखि बिरुवाले पूर्ण क्षमतामा उत्पादन दिन शुरू गर्छ, प्रति बिरुवाले वार्षिक दुई केजीका दरमा । कारखाना निर्माण समितिका सदस्य डिल्लीराम खनाल एक बिघा जमिनमा वर्षको १६ हजार केजी हरियो चियापत्ती उत्पादन हुने बताउँछन् ।

कारखानाहरूले अहिले एक केजीको रु.२० दिइरहेकाले एक बिघामा उत्पादन हुने चियाबाट किसानले वार्षिक रु.३ लाख २० हजार पाउँछन् । बिरुवा, मल, ज्याला, औषधि र लगानीको ब्याज कटाउँदा पनि एक बिघाबाट किसानलाई वार्षिक रु.१ लाख २५ हजार आम्दानी हुने गरेको खनालको भनाइ छ ।

गोपाल गडतौला, झापा

१६ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>