समाचारबिहीबार, आषाढ २०, २०७०
मृतक भनिएका व्यक्ति घर फर्किंदा खुशीयाली
भारतको केदारनाथमा पहिरोमा परेर मृत्यु भएको भनिएका एक व्यक्ति घर आइपुग्दा रुकुमको एक घरमा खुशीयाली छाएको छ ।
एकसाता पहिले घरमा मृत्यु भएको खबर आएपछि आफन्तहरुले काजक्रिया गरे पनि जिल्लाको झुला गाविसका डिल्लीबहादुर ओली घर फर्केपछि उनको परिवारमा खुशीयाली छाएको हो ।
चार महिना अघि ओली कामका लागि भारतको हिमाञ्चल प्रदेशमा काम गर्न गएका थिए । उनीसंगै गएका रुकुम स्यालापाखाका एक जनाको मृत्यु भैसकेको खबर आएको छ । घरमा काजक्रिया गरेको खबर सुनेपछि ओलीले परदेशबाटै आफू जीवित रहेको भन्दै घरमा फोन गरेका भए पनि घरपरिवारले पत्याएका थिएनन् ।
आफू नमरेको प्रमाणित गर्न घर नै आउनुपरेको ओलीले बताए । भारतको केदारनाथ, उत्तराखण्ड, बद्रीनाथ र गौरीकुण्डमा आएको बाढी पहिरोमा परेर जीवन गुमाएको खबर घर परिवारले पाएका थिए । मृतक भनिएका ओलीको घरमा २० असारमा खशी काटेर गाँउलेहरुले खुशीयाली मनाएका छन ।
लक्ष्मण केसी, रुकुम
