समाचारआइतबार, आषाढ २३, २०७०
पूर्वसभासद हत्याका अभियुक्तहरू कारागार चलान
न्यायाधीश किरण शिवाकोटीको इजलासले सभासद् हकको हत्याका मुख्य योजनाकार भनिएकी पत्नी नुरजहाँ, छोरी रुवेदा र हत्यामा संलग्न रहेको आरोप लागेका अब्दुल रउफलाई २३ असारमा थुनामा राख्ने आदेश दिएको हो । आदेशअनुसार अभियुक्त तीनै जनालाई आजै राजविराजस्थित कारागार लगिएको छ । तत्काल उपलब्ध सबुत प्रमाणबाट दोषी देखिएका कारण अदालती बन्दोबस्तको दफा ११८ को उपदफा २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको जिल्ला अदालतले जनाएको छ ।
पूर्वसभासद् हकको हत्या उहाँकै श्रीमती र छोरी मिलेर गराएको तथ्य केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले गत जेठ २४ गते सार्वजनिक गरेको थियो । व्यापक अनुसन्धानपछि सिबिआईले राजविराजमा पत्रकार सम्मेलन गरी हत्याको योजना बनाउने आमाछोरी र हत्यामा संलग्नमध्येका रउफलाई सार्वजनिकसमेत गरेको थियो ।
हत्यामा संलग्न भनिएकामध्ये सिरहा चतुरी–२ का ऐनुल शेख र लहानका जमिरुल शेख अझै फरार छन् । प्रहरीले दुवैको खोजी तीव्र रुपमा भइरहेको जनाएको छ । पूर्वसभासद् हकको गत जेठ ६ गते राति सप्तरीको कल्याणपुर–२ विसनपुरस्थित आफ्नै पेट्रोल पम्पमा हत्या गरिएको थियो ।रासस
