समाचारसोमबार, आषाढ २४, २०७०
सिण्डीकेटलाई सरकारी संरक्षण

सिण्डिकेटले गर्दा पोखराको सडकमा गुड्ने इजाजत नपाएर ग्यारेजमा थन्किएका विन्दवासिनी यातायातको बस । तस्वीरः माधव बराल
प्रतिष्पर्धा प्रर्वद्धन तथा बजार संरक्षण ऐन २०६३, उपभोक्ता संरक्षण ऐन २०५४, नियमावलि २०५६ र सर्वोच्च अदालतको पुष २०६४ को आदेशले सबै ‘सिण्डीकेट’ लाई निधेष गरेपनि कास्कीको यातायात व्यवस्थापन समितिले भने भाडाका नयाँ सवारी साधनलाई रुट इजाजत नदिएर वर्षौदेखिको सिन्डिकेट कायम राखेको छ । २१ बैशाख २०७० मा समितिका अध्यक्ष एवम कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाको अध्यक्षतामा भएको बैठकले जनसंख्याको चाप, सडकको अवस्था, सार्वजनिक सवारी साधनबीचको अनुपात निर्धारण नभएको भन्दै पोखरा उपत्यकामा नयाँ सवारीलाई रुट इजाजत नदिने निर्णय गरेको थियो ।
स्तरीय सेवालाई रोक
समितिको त्यो निर्णयले पोखरामा स्तरीय यातायात सेवा दिन १० वटा नयाँ बस ल्याएको विन्ध्यवासिनी बस व्यवसायी समितिलाई मर्का परेको छ । १४ कात्तिक २०६९ मा कास्की जिल्ला प्रशासनमा दर्ता भएको त्यो समितिका सबै बस अहिले ग्यारेजमा थन्किएका छन् ।
२६ सिट क्षमताका ति बस एसी, भिडियो र सिसि क्यामरा जडित छन् । रुट इजाजत पाउन ७ असारमा यातायात व्यवस्था बिभागमा निवेदन दिएका समितिका सचिव विकाश श्रेष्ठ भन्छन्, “पोखरा शहर बाहेक बाहिर लैजान नमिल्ने यी बस चलाउन संघर्ष गर्नुपर्ने भयो ।’
विभागले यातायात व्यवस्था कार्यालय गण्डकीलाई यातायात व्यवस्थापन समितिको बैठक राखी निर्णय गर्न निर्देशन दिएको थियो । तर, कति जनसंख्याका लागि कतिवटा सार्वजनिक सवारी आवश्यक पर्दछ भन्ने मापदण्ड बनाएर मात्र निर्णय गर्नु उपयुक्त हुने भएकाले पहिले मापदण्ड बनाउन र रिट इजाजत पनि दिन विभागलाई अनुरोधपत्र पठाइएको कार्यालयका अधिकत बाबुराम लामिछानेले बताए । प्रजिअ कोइरालाले चाहिँ रुट इजाजत दिदाँ दुई समितिबीच द्धन्द्ध हुने र सुरक्षामा खलल पुग्ने भएकाले इजाजत नदिइएको बताए ।
नयाँ समितिलाई दर्ता नगर्न पोखराको यातायातमा सिन्डिकेट चलाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँगले बिरोध गरे पनि पूर्व प्रजिअ बसन्तराज गौतमले विन्धवासिनीलाई दर्ता दिएका थिए । अहिलेचाहिँ महासंघको सिफारिसमा मात्र भाडाका नयाँ सवारी साधनलाई रुट इजाजत दिने आन्तरिक सहमति यातायात व्यवस्था कार्यालय गण्डकी र महासंघबीच भएको स्रोत बताउँछ ।
महासंघमा आवद्ध पोखरा बस व्यवसायी समितिका २४२ वटा बस कास्कीका एक दर्जनभन्दा बढि गाविस र पोखरा नगरमा चल्ने गर्छन् । तिमध्ये धेरै बस पुराना र असुविधाजनक छन् ।
माधव बराल, पोखरा
२३ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
