समाचारबुधबार, आषाढ २६, २०७०
भारतीय विदेशमन्त्री खुर्सिदले ककसलाई भेटे ?
२५ असारमा भारत फर्कनुअघि उनले राष्ट्रपति डा. रामवरण यादव र अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग शिष्टाचार भेट गरे । त्यसअघि खुर्सिद र उनका समकक्षी परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरेबीच बैठक भएको थियो ।
काठमाडौँस्थित होटल द्वारिकाजमा खुर्सिदले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, सङ्गठन विभाग प्रमुख कृष्णबहादुर महरा, नेताहरू वर्षमान पुन, राम कार्की र हिसिला यमीलाई भेटे । खुर्सिदले नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल, डा. रामशरण महत, विमलेन्द्र निधिसँग छलफल गरेका थिए ।
यस्तै नेकपा एमाले अध्यक्ष झलनाथ खनाल, नेताहरू भरतमोहन अधिकारी र सुरेन्द्र पाण्डेलगायतसँग पनि उनले छलफल गरे । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र यादव, अनिलकुमार झा, जयप्रकाशप्रसाद गुप्ता, राजकिशोर यादव, जितेन्द्र देव पनि खुर्सिदलाई भेट्न होटलमा पुगेका थिए ।
