समाचारशुक्रबार, आषाढ २८, २०७०
चुनावमा भ्रष्ट उम्मेदवारलाई हराउन आह्वान
टीआई नेपालले २७ असारमा राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर यस्तो आव्हान गरेको हो । कार्यक्रममा वितरित आह्वानपत्रमा योग्य र इमान्दार उम्मेदवारलाई निर्वाचनमा जिताउन र भ्रष्टलाई हराउन आह्वान गरिएको हो ।
राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा इमान्दार हुन, निर्वाचनमा सही उम्मेदवार छनोट गर्न, भ्रष्टाचार बिरोधी कार्यलाई प्रभावकारी बनाउन ठोस नीति निर्माण गर्न, शासन प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन, आचारसंहिता पालना गर्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्न राजनीतिक दललाई आह्वान गरिएको छ ।
यसैगरी निर्वाचनका लागि राजनीतिक दलले सङ्कलन गर्ने चन्दालाई पारदर्शी बनाउने व्यवस्था मिलाउन, निर्वाचनमा निष्पक्षता र जनसहभागिता बढाउन, मितव्ययिता अपनाउन र आचारसंहिता पालना गराउन निर्वाचन आयोगलाई आह्वान गरिएको छ भने निर्वाचन खर्चमा मितव्ययिता ल्याउन सरकारको पनि ध्यानाकर्षण गराइएको छ ।
निर्वाचनका लागि उपयुक्त वातावरण निर्माण गर्न, सबै नागरिकलाई निर्वाचनप्रति उत्साहित गर्न, सही व्यक्तिलाई उम्मेदवार छान्न, भ्रष्ट व्यक्तिबारे भण्डाफोर गर्न, निर्वाचन आचारसंहिताबारे सबैमा जानकारी गराउन र आचारसंहिता पालना भए/नभएकोबारे जनसमक्ष ल्याउन सञ्चार माध्यमलाई अपिल गरिएको छ । सक्षम, योग्य, विकासका लगि प्रतिबद्ध, भ्रष्टाचार विरोधी उम्मेदवार छानेर पठाउन पनि आम नागरिकसमक्ष आह्वान गरिएको छ ।
अवसरमा टिआई नेपालका अध्यक्ष विष्णुबहादुर केसीले विकासमा बाधक बनेको भ्रष्टाचार सार्वजनिक चिन्ताको विषय भएकाले भ्रष्टाचारविरुद्धको अभियानमा मुलुकका जिम्मेवार निकायहरू कटिबद्ध भएर लाग्नुपर्ने बताए ।रासस
