थप समाचारसोमबार, आषाढ ३१, २०७०
अधिकारीका ‘जनमुखी बजेटहरु’ सार्वजनिक
जुगल पब्लिकेसन प्रालिले प्रकाशन गरेको पुस्तक ३१ असारमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक गरेका हुन । पुस्तक सार्वजनिक गर्दै नेता नेपालले दीर्घकालीन विकासका स्रोतको विकास गरेर अर्थसम्बन्धी सबै क्षेत्रलाई एकीकृत गरी विदेशबाट आयात गर्ने वस्तु नेपालमै उत्पादन हुन उद्योग व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अर्थविद् डा. विश्वम्भर प्याकुरेलले अधिकारी अर्थमन्त्री हुँदा अर्थतन्त्रको बाटो नै परिवर्तन गरी जनमुखी बजेट ल्याउन सफल भएकाले नेपाली जनताबीच उनी लोकप्रिय बन्न सफल भएको बताए ।
प्रा डा केशव खड्काले तत्कालीन अर्थमन्त्री अधिकारी हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, वृद्वभत्तालगायत कार्यक्रम निकै लोकप्रिय भएको र सोही तरिकाको बजेट अहिलेसम्म आउन नसकेको विचार राखे । प्रा डा मदन दाहालले गाउँ गाउँमा छरिएर रहेका अर्थतन्त्रलाई एकीकृत गर्नुपर्ने बताउँदै वर्तमान समयमा नैतिकताको अर्थतन्त्रको आवश्यकता औंल्याए ।
उद्योगपति विनोद चौधरीले मुलुक राजनीतिक कारणले भन्दा पनि आर्थिक रुपमा सक्षम हुनुपर्ने धारणा राखे ।
पुस्तकमा एमाले नेता भारतमोहन अधिकारी अर्थमन्त्री हुँदाका चार वटा बजेटलाई समेटिएको छ । पुस्तकमा आव २०५१÷२०५२ सालको कर प्रणाली पुनरवलोकन कार्यदल, ‘आफ्नो गाउँ, आफै बनाऔँ’ कार्यक्रम, विसं २०५२ असार २७ गते सरकारका अर्थमन्त्रीका रुपमा दोस्रो पटक बजेट, २०६१ सालमा साउन १ गते र २०६८ असार ३१ गते प्रस्तुत गरिएको बजेटका सारांश, निष्कर्ष र सुझावसहित प्रस्तुत गरिएको छ ।रासस
