समाचारबुधबार, साउन २, २०७०
गणेश लामा हिरासतमा
अभियुक्त लामा २ साउनमा हाजिर भएपछि उक्त अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मनोरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासमा प्रारम्भ गरिएको थुनछेक बहस नसकिएका कारण भोलि पुनः बहस गरिने अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले जानकारी दिए । लामाको बयानपछि सरकारी वकिलले बहस गरेका तर लामा पक्षका वकिलले बहस गर्न नभ्याएकाले भोलि बहसका क्रममा उपस्थित गराउने गरी लामालाई सिंहदरबारस्थित प्रहरी प्रभागको हिरासतमा पठाइएको छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अधिकारीले काभ्रेपलाञ्चोक निवासी अभियुक्त लामाले रू २७ करोड एक लाख ६१ हजार ०५८ बराबरको सम्पति अवैधरूपले आर्जन गरेको आरोपसहित उनी, उनकी श्रीमती लक्ष्मी र बाबुआमाविरुद्ध गत जेठ ५ गते मुद्दा दायर गरेका थिए ।
यसैगरी सोही अपराधअन्तर्गत कोटेश्वर निवासी अभिषेक गिरी, महाराजगन्ज निवासी चक्रे मिलन, विराटनगर निवासी पर्शुराम बस्नेत र कामपा–२९ निवासी दीपक मनाङ्गेविरुद्ध पनि मुद्दा दायर गरिएकामा अभियुक्त बस्नेत धरौटीमा छुटेको र अर्का अभियुक्त मिलन हिरासतमै छन् । अभियुक्त गिरी र मनाङ्गे भने हालसम्म फरार छन् ।
अभियुक्त गिरीले रू दुई करोड ९४ लाख ४६ हजार ५७६, मिलनले रू सात करोड आठ लाख १७ हजार २२६, बस्नेतले रू ११ करोड ६१ लाख ४१ हजार ९७७ र लामाले रू २७ करोड एक लाख ६१ हजार ०५८ बराबरको सम्पति अवैधरूपले आर्जन गरेको विभागको आरोप छ ।
