समाचारबिहीबार, साउन ३, २०७०
लोकसेवाको फाराम भर्न एक लाख खर्च
लाखा गाविस–४ का कमलबहादुर झाँक्रीले रु. एक लाखभन्दा बढी रकम खर्चेर यहाँस्थित लोकसेवा आयोगको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयमा आवेदन फाराम भरेका हुन । उनले स्वास्थ्य सेवाअन्तर्गत हेल्थ असिस्टेन्ट पदमा पिछडिएको क्षेत्रको एउटा कोटाका लागि यति ठूलो रकम खर्चेर आवेदन फाराम भरेका छन् ।
झाँक्रीले परीक्षा फाराम भर्न डोल्पादेखि नेपालगन्जसम्म फिस्टेल एयरको हेलिकोप्टरबाट आएको बताए । सदरमुकाममा भेटिएका झाँक्रीले भने, “सूचना ढिलो गरेर पाइयो, हिँडेर आउने समय नहुँदा रु. एक लाख खर्च हुने भयो ।”
एकहप्ता अगाडि धनकुटा सदरमुकाम आइपुगेका झाँक्रीले २ साउनमा आवेदन फाराम भरेका छन् । यति ठूलो रकम खर्चेर लोकसेवाको परीक्षा फाराम भर्दा पनि नाम निस्कनेमा भने ढुक्क नभएको झाँक्रीको भनाइ छ । उनले घर फर्कंदा पनि नेपालगन्जबाट हेलिकोप्टरमै फर्कने बताए ।
नेपालगन्जबाट हेलिकोप्टर चढ्दा पटके रु ६० हजारभन्दा बढी खर्च लाग्ने गर्छ । सात दिनभन्दा बढी समय लाग्ने भएकाले हेलिकप्टरबाटै जान लागेको उनको भनाई छ ।
दुर्गममा स्वास्थ्य सेवा गर्ने उद्देश्यले पर्साको वीरगन्जमा रहेको द हिमाल इन्स्टिच्यूट अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढेका झाँक्रीले सरकारी जागिरे भएरै छाड्ने सङ्कल्प लिएका छन् ।
लोकसेवा आयोगले तीन वर्षपछि खुलाएको स्वास्थ्य सेवाको चौथो र पाँचौँ तहको विज्ञापनमा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट १० हजारभन्दा बढीले आवेदन फाराम भरेको कार्यालयले जनाएको छ ।रासस
