समाचारबिहीबार, साउन ३, २०७०
क्षेत्र निर्धारण विवाद मिलाउन कार्यदल गठन
समितिको कार्यालय नयाबानेश्वरमा ३ साउनमा बसेको बैठकले चार दलका दुई/दुई जना नेता सम्मिलित कार्यदल गठन गरेको हो । कार्यदलमा एनेकपा माओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, नेपाली कांग्रेसबाट डा. रामशरण महत र डा. मिनेन्द्र रिजाल, नेकपा एमालेबाट सुरेन्द्र पाण्डे र अग्नी खरेल तथा मधेसी मोर्चाबाट हृदयेश त्रिपाठी र जितेन्द्र देव सदस्य रहेका छन् । ताहिर अलि अन्सारीको नेतृत्वमा गठित कार्यदलले क्षेत्र निर्धारण सम्बन्धी विवाद मिलाउन नसकेपछि कार्यदल गठन गरिएको हो ।
कार्यदलले निर्वाचन क्षेत्र निर्धारणका सम्बन्धमा देखिएका विवाद अध्ययन गरी शीर्ष नेताहरूलाई सुझाव पेश गर्नेछ । कार्यदलकै सुझावका आधारमा समितिले निर्वाचन क्षेत्र निर्धाण आयोगलाई सुझाव दिने छलफलमा सहभागी एमाले नेता रघुजी पन्तले जानकारी दिए ।
बैठकमा आन्दोलनरत दहरुसग वार्ताका लागि भएका प्रयासका बारेमा समितिका संयोजक पुष्पकमल दाहालले जानकारी गराएका थिए । संयोजक दाहालले नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसग छुट्टाछुट्टै भेट गरेर मात्रै वार्ता प्रक्रिया अघि बढाउन लागेको बताएका थिए ।
