समाचारसोमबार, साउन ७, २०७०
एमाले पहिलो र एमाओवादी तेस्रो पार्टी बन्छ: एमाले
पार्टीको केन्द्रीय समितिको ६ साउनमा बसेको बैठकले पार्टीबाट सञ्चालित एकमहिने निर्वाचन अभियानको समीक्षा गर्दै निर्वाचनबाट पार्टी पहिलो शक्तिको रूपमा आउने ठहर गरेको एमालेको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए । बैठकमा नेपाली काँगे्रस दोस्रो र एनेकपा (माओवादी) तेस्रो स्थानमा आउने आँकडा आएको ज्ञवालीले जानकारी दिए ।
एमाले सय निर्वाचन क्षेत्रमा अगाडि रहेको प्रारम्भिक प्रतिवेदन आएको समेत नेता ज्ञवालीले दाबी गरे । बैठकले चुनावी रणनीति तय गर्दै देशव्यापीरूपमा चुनावी अभियानमा जाने निर्णय गरेको छ ।
बैठकले केही दिनअघि तमलोपा नेपाल परित्याग गरी एमाले प्रवेश गरेका रत्नेश्वर गोइतलाई केन्द्रीय समितिमा चयन गरेको छ भने बैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर बोगटीलाई केन्द्रीय सदस्यमा लाने निर्णय गरेको छ ।
केन्द्रीय सदस्यहरू सुवासचन्द्र नेम्वाङ, भीम रावल, किरण गुरुङ, राधा ज्ञवाली, धर्मनाथ शाहलगायतलाई पोलिटब्युरो सदस्यमा लैजान प्रस्ताव गरिएकामा थप गृहकार्य गरी स्थायी समितिले निर्णय गर्ने बताइएको छ ।
४ साउनमा सुरु भएको केन्द्रीय समितको बैठकमा ५ साउनमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव पारित गरेको थियो ।रासस
